काठमाडौं २२ असोज ।
निर्वाचन आयोगले प्रतिनिधि सभाको १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापनाको काम सकिएको जनाएको छ । असोज २१ गते बिहीवारसम्म निर्वाचन आयोगले दिएको तोकेको समयसीमा भित्र नै प्रतिनिधि सभा तर्फका १६५ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको जनाएको हो । शुक्रवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीवारसम्म १६५ वटै प्रतिनिधि सभाका निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना भइसकेको बताउनु भयो । उहाँले स्थापना भएका कार्यालयहरुमा जनशक्ति र आवश्यक व्यवस्थापकीय कामहरु पनि पूरा भएको बताउनु भयो । स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा शुक्रवार र शनिवारको समय असोज २३ गते हुने प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयनका लागि तयारीको समय रहेको बताउनु भयो । उहाँले निर्वाचन अधिकृतले आफ्नो मातहतबाट ३ वटा निर्वाचन क्षेत्रलाई उम्मेदवारी संकलन गर्नुपर्ने बताउनु भयो । सह प्रवक्ता अर्यालले प्रतिनिधि सभाको प्रत्यक्ष र प्रदेश सभाको १ र २ को प्रत्यक्षका लागि उम्मेदवारहरुको विवरण संकलन गर्नुपर्ने बताउनु भयो । निर्वाचन अधिकृतहरुले प्रतिनिधि सभाको लागि छुट्टै कक्ष र प्रदेश सभाको १ को लागि छुट्टै र दुईको लागि छुट्टै गरेर तीन वटा ठाउँमा तोकिएको समयभित्र दर्ताको व्यवस्था मिलाइने बताउनु भयो ।
सह प्रवक्ता अर्यालले आयोगले प्रत्यक्ष तर्फको दल दर्ताका लागि व्यवस्थित गर्न अहिलेको आचारसंहीताले सहज बनाएको बताउनु भयो । उहाँले विगतमा हुने तामझाम र बाजागाजासहितको प्रचलनलाई अन्त्य गरी २५ जना मात्रै उपस्थित हुन पाउने प्रावधानले दल दर्ताका लागि केही सहज बनाएको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले ठूलो दलहरु दल दर्ता गर्न जाँदा भीडभाड हुनसक्ने अवस्थालाई मध्यनजर गरी निर्वाचन अधिकृतले विभिन्न दल र सम्भावित उम्मेदवारसँग छलफल गरी समय निर्धारण गर्नसक्ने बताउनु भयो । उहाँले कसरी मनोनयन दर्ता व्यवस्थित गर्ने र कसरी आचारणद्ध गराउने ? भन्नेकुराको छलफलसँगै अनुशासन र आचारसंहीताको सीमा र परिधिभित्र रहेर राम्रो मनोनयन दर्ता हुनेमा आयोग विश्वस्त रहेको बताउनु भयो । सह प्रवक्ता अर्यालले मनोनयन दर्ताका लागि जाने क्रममा भीडभाड बढी हुने भएकाले सुरक्षा व्यवस्थालाई कडा पारिएको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले मनोनयनका लागि एकैपटक भीड नबढाउन दर्ता स्थल फरकफरक गर्ने, ठूला दलहरुको लागि समय मिलाउने र आचारसंहीता अनुसार २५ जना मात्रै सहभागी बन्ने हो भने व्यवस्थित रुपमा मनोनयन प्रक्रिया अघि बढ्ने बताउनु भयो । सह प्रवक्ता अर्यालले मनोनयन दर्ता गर्न कानूनी प्रक्रिया पूरा गरेको (योग्य) जो कोही व्यक्तिले पनि स्वतन्त्र उम्मेदवारी दिन पाउने व्यवस्था भएकाले आयोगले तोकेको समयभित्र उम्मेदवारी दर्ता गर्नसक्ने अधिकार रहेको बताउनु भयो ।







