काठमाडौं,५,भदौ ।
नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थायित्वका
लागि सबै राजनीतिक दलहरुको भुमिका रहने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित योङ कम्युनिष्ट लिग, नेपालको दोस्रो राष्ट्रिय
भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रलाई राजनीतिक स्थायित्व दिन
सबै दलहरुले आ–आफ्नो पूर्वाग्रह त्याग्नुपर्ने बताउनुभएको हो । उहाँले
सुशासन स्थापना र देशको विकासको निम्ति पनि सबै दलको सामुहिक भुमिकाको
आवश्यकता पर्ने उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले कुन विचार र नेतृत्वबाट
राष्ट्र एकतावद्ध हुनसक्छ भन्ने विषयमा मनन गर्नुपर्ने बेला आएको बताउनु
भयो । उहाँले भन्नुभयो – ‘हाम्रो देशमा राजनीतिक इच्छाशक्तिसहितको दृढ
राजनीतिक नेतृत्वको अभावमा राजनीतिक स्थायित्व कायम गर्न सकिएको छैन अझैपनि
। र अनि विकास, निर्माण र सुशासनलाई अगाडी बढ्ने वातावरण निर्माण हुन सकेको
छैन । मलाई के लाग्छ भने यो कुनै घमण्डको कुरा होइन, जसले संघीय
लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नको लागि रगतको खोलो बगायो । बलिदानका
अनगिन्ति कीर्तिमान कायम गरेर एउटा निश्चित विचार श्रृंखलासहित यहाँ आएको
नेतृत्व फेरि एकचोटी नेता र जनताको बिचमा स्थापित नगरीकन, राष्ट्रलाई ठिक
ढंगले नेतृत्व नगरिकन जनता र इतिहासको यो आकांक्षा पूरा हुनेवाला छैन ।
हामीहरुले एकचोटी फेरि संकल्प गर्नुपर्दछ, केही परिवर्तनका वाहकहरुलाई
पन्छाएर परिवर्तन बिरोधीहरुको हातबाट यो देशमा सुशासन र विकास असम्भव छ
भन्ने कुरा प्रमाणित गर्नको लागि तपाई हामीले चुनौती सामना गर्नैपर्नेछ । म
अन्य राजनीतिक दलका युवा प्रतिनिधि साथीहरुलाई पनि म विशेष रुपले अपील गर्न
चाहन्छु । विभिन्न खालका आग्रह, पूर्वाग्रह हुँदा यो राष्ट्रलाई एकतावद्ध
गर्ने, देशको राजनीतिलाई स्थायित्वतिर लैजाने र सुशासन र विकासलाई
इमान्दारिताको साथ अगाडी बढाउनको लागि तपाई हामी सबैको भुमिका सामुहिक
रुपले आवश्यक भएको छ । तपाई हामी सबैले कुन विचार र कुन नेतृत्वबाट यो
राष्ट्र एकतावद्ध हुनसक्छ । यसले देशका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र,
लिङ्ग, समुदायका भावनालाई प्रतिनिधित्व गर्नसक्छ भन्ने बारेमा चिन्तन गरौँ
। र त्यो वातावरण बनाउन आ–आफ्नो ठाउँबाट भुमिका खेलौँ ।’
उहाँले देशको राजनीतिक परिवर्तनहरुमा पार्टीको युवा संगठन योङ कम्युनिष्ट
लिग, नेपालले महत्वपूर्ण भुमिका निर्वाह गर्ने गरेको भन्दै प्रशंसा समेत
गर्नुभयो ।








