काठमाडौैं,३१,साउन ।
सांसदहरुले विपन्न वर्ग र क्षेत्रका लागि व्यवस्था गरेको कर्जा प्रवाहको कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारसँग माग गर्नु भएको छ ।मंगलबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै सत्तारुढ नेकपा (माओवादी केन्द्र)की सांसद सत्य पहाडीले बजेट भाषणमा उल्लेख गरिएको विद्यार्थीका लागि सहुलियतपूर्ण कर्जा र बेरोजगार लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रम केवल कर्णप्रिय नारा मात्रै भएको भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारसँग जोडदार माग गर्नु भयो । उहाँले स्वरोजगार कोष, प्रधानमन्त्री रोजगार कार्यक्रम र विपन्न वर्ग र क्षेत्रका लागि प्रदान गरिने सहुलियतसहितको कर्जालाई एकीकृत गरी रोजगारी सृजना गर्ने काममा ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । सांसद पहाडीले भन्नु भयो, ‘बजेट भाषणमा सुन्न र पढन पाईने विद्यार्थीका लागि सहुलियतपूर्ण कर्जा र बेरोजगार लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रम केवल कर्णप्रिय नारा मात्रै बनिरहेका छन । यथार्थमा विद्यार्थीहरुले शैक्षिक कर्जाको उपयोग गर्न पाईरहेका छैनन् । सभामुख महोदय, त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम पनि असारे विकासजस्तै औपचारिकता मात्रै बनिरहेको छ । तसर्थ, स्वरोजगार कोष, प्रधानमन्त्री रोजगार कार्यक्रम र विपन्न वर्ग र क्षेत्रलाई प्रदान गरिने सहुलियतसहितको कर्जालाई एकीकृत गरी स्थायी प्रकारणको रोजगार सृजना गर्न ध्यान देओस् भनेर सभामुख महोदयमार्फत् नेपाल सरकारलाई जोडदार माग गर्दछु ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले ठूला ठेकदारहरुले ठेक्कापट्टा कब्जा गर्ने गरी सरकारले नीति बनाएकाले विकास, निर्माणको काम अवरुद्ध भइरहेको आरोप लगाउनु भयो । उहाँले ठूला उद्योगी र व्यवसायीहरुले बैंकहरुलाई नियन्त्रणमा लिएकाले साना व्यापारी र उद्यमीहरुले बैकबाट ऋणनै नपाउने अवस्था आउँदा पनि बेखवर भएको भन्दै सरकारको चर्को आलोचना गर्नु भयो । सांसद पण्डितले भन्नु भयो, ‘देशको विकास, निर्माणको कानुन तीव्र गतिमा अगाडि बढेन । किनभने ठूला ठेकदारहरुले ठेक्कापट्टा कब्जा गर्ने नीति अन्तरगत गए । काम गर्ने नीति अन्तरगत गएन । त्यसकारण विकास अवरुद्ध भएको छ । त्यस्तै देशका उद्योगी र ठूला व्यवसायीहरुले बैंकहरु आफ्नो नियन्त्रणमा लगे । त्यसकारणले गर्दाखेरी साना उद्योगी र साना व्यापारीहरुले बैंकबाट ऋण पाउने स्थिति भएन । त्यसकारणले गर्दाखेरी साना उद्योग र व्यवसायहरु धरासायी हुँदै गएको कुरा मैले जानकारी गराउन चाहन्छु ।
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद हिरा गुरुङले काठमाडौंमा फोहोरको समस्या गत वर्षहरुमा भन्दा पनि बढि भएको भन्दै त्यसको व्यवस्थापनका लागि काम गर्न सरकारलाई दवाव दिनु भयो । उहाँले बाढिपहिरो र डुबान पीडितहरुलाई राहत दिने काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । सांसद गुरुङले भन्नु भयो, ‘हरेक वर्ष नयाँनयाँ समस्याको रुपमा देखा परेको फोहोर व्यवस्थापन यसपाली झनै ठूलो समस्याको रुप लिएर आयो । पूरै काठमाडौं दूर्गन्धित भईसकेको छ । सरकारले महानगरको र महानगरले सरकारको मुख हेरेर बस्न मिल्दैन । प्रशासन लगायर बञ्चरेडाँडामा दुई सय टिपर फोहोर फाल्दैमा सरकारले काम गरेको भन्न मिल्दैन । यसको दिर्घकालीन समस्या समाधानको निम्ति सभामुखमार्फत काम गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । वर्षेनी जाने बाढिपहिरोले जनधनको क्षति भएका जनताहरुलाई उचित व्यवस्थापन गर्ने भनिएपनि कार्यान्वयन पक्ष ढिलासुस्ती भएको हुँदा पीडितहरु आक्रोशित भएका समाचारहरु अखवारहरुमा दिनहुँजस्तो आईरहन्छ । जुरे पीडितले अझै पनि बासको व्यवस्था नपाएकाले ती पीडितहरुलगायत सबैलाई बासको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।
माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले चौरहजारी विमानस्थलको सेवा सूचारु गराउन सरकारसँग माग गर्नु भयो । उहाँले मध्यपहाडी सडक अन्तरगतको भेरी नदीमा पर्ने पुल निर्माणको काम सुरु भएको दशक बित्दा पनि त्यसको निर्माण कार्यले गति नलिएको भन्दै सरकारको आलोचना गर्नु भयो । सांसद बस्नेतले सो पुलको निर्माण कार्य ढिलाई हुनुको कारण खोजी गरी छिटो पूरा गर्न पनि सरकारलाई ध्यान दिन आग्रह गर्नु भयो । उहाँले भन्नु भयो, ‘जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लालाई पायक पर्नेगरी केन्द्र भागमा स्थापना भएको चौरहजारी विमानस्थलमा नेपाल वायु सेवा निगमले आफ्नो सेवा दिँदै आएको थियो । तर केही वर्षयता सो सेवा बन्द अवस्थामा छ । सरोकारवाला जिल्लाका जिल्ला प्रशासन कार्यालयहरु, उद्योग, व्यवसायी संघ, संस्थाहरुसहित हामी जनप्रतिनिधिहरुले बेलाबेलामा पटक पटक हवाई सेवा सूचारु गर्नका लागि वायु सेवा निगमको कार्यालयमा हामीले अनुरोध गर्दै आएका छौं र लिखित अनुरोध पनि गर्दै आईरहेका छौं । पूर्वाधार तयार भएको छ । कालोपत्रे सहितको रनवे छ । तर पनि सेवा संचालन हुन सकिराखेको छैन । तत्काल सेवा संचालनका लागि म नेपाल सरकारसँग विशेष आग्रह गर्न चाहन्छु । मध्यपहाडी सडकको भेरी नदीमा पर्ने पुल निर्माण कार्य सुरु भएको दशक भईसक्यो । तर २० प्रतिशत पनि काम अहिलेसम्म हुन सकेको छैन । र, त्यो निर्माण कार्य सम्पन्न नहुनुको कारण के हो ? त्यो कुराको खोजीसहित निर्माण कार्य छिटो सम्पन्न गर्नका लागि म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । सांसद बस्नेतले दशक वितिसक्दा पनि सो पुल निर्माणको काम २० प्रतिशत मात्रै पूरा भएको उल्लेख गर्दै त्यसलाई ढिलाई हुन नदिन सरकारले विशेष जोड दिनुपर्ने बताउनु भयो ।








