काठमाडौं,२५,साउन  ।

नेकपा एमालेका नेता डा. भीम रावलले सरकार संविधानमा उल्लेखित कानूनलाई बेवास्ता गरेर देशप्रति बेइमानी गर्न लागिपरेको बताउनुभएको छ । नेपाली पुरुषसँग विवाह गर्ने महिलालाई तत्काल नागरिकता दिने कुरा नेपालको हीतमा नरहेको उल्लेख गर्दै यो संविधान विपरित भएको बताउनुभएको हो । बुधवार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हरेक देशमा विवाह हुनेबित्तिकै कोही पनि विदेशी नागरिकलाई देशको नागरिकता दिने प्रावधान नरहेको र नागरिकता प्राप्तिका लागि केही समय कुर्नुपर्ने स्थिति रहेको भन्दै नेपालले ल्याएको संशोधित नागरिकता विधेयकले देशकै नागरिकलाई अल्पमतमा पार्ने बताउनु भयो । उहाँले अनुहारको आधारमा नागरिकता रोक्न खोजेको भन्नेहरु देशलाई विखण्डन गर्ने तत्व भएको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले नागरिकताका बारेमा बारम्बार भनेका छौँ । देशभक्त नेपालीले नागरिकता पाउनुपर्छ । तर विवाह गरेर आउनेबित्तिकै नागरिकता दिने भन्ने कुरा छ, त्यो हुनु हुँदैन । नागरिकता लिनलाई नेपालीसँग विवाह गर्ने महिलाले ७ वर्ष कुर्नुपर्छ भन्दा भारतबिरोधी काम भयो भन्न मिल्छ ? हरेक देशमा यति वर्षपछि भन्ने त कानून छ । अनुहारको आधारमा नागरिकता रोक्न खोजेको भन्नेहरु देशलाई विखण्डन गर्ने तत्व हुन् । नागरिकताको बारेमा संविधानमा उल्लेखित गर्दा दिएको वचनबाट पछि हट्नु भनेको देशप्रतिको बेइमानी हो । संसारमा कुनैपनि देशले नागरिकतालाई खुकुलो बनाउँदैन । तर नेपाल यति धेरै ठूलो जनसंख्या भएका देशका बीचमा बसेर खुकुलो बनाइरहेको छ ।

नेता रावलले नेपालले आफ्ना सीमानामा नियमन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालीहरुले अन्तर्राष्ट्रिय कानूनअनुसार भारतसँग सुमधुर सम्बन्ध कायम राख्न सीमाको व्यवस्थापन गर्न जरुरी रहेको बताउनु भयो । नेता रावलले सुस्ता, कालापानी, सन्दुकपुर लगायतका देशका ७७ ठाउँमा सीमा अतिक्रमणमा परेको भन्दै बहुमतको बलियो सरकारले सीमा समस्याको समाधानका लागि भारतसँग छलफल गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सीमा रक्षाको कुरामा गठबन्धन सरकार संवेदनशील नरहेको आरोप लगाउनु भयो । कालापानीमा विदेशी फौज आएर बुलडोजर चलाउँदा समेत सरकार मौन रहेको बताउनु भयो । नेपालमात्रै यस्तो देश हो, जसले संसारका सबैभन्दा ठूला र सबैभन्दा बढी जनसंख्या भएको देशको बीचमा रहेर न सन्धीबाट तय भएको, न कुनै कानूनबाट तय भएको कुनबेलाको कुन शासकको सनकको भरमा हाम्रो सीमानालाई अन्तर्राष्ट्रिय कानून बमोजिम नियमन गरिएको छैन । हामीले नियमन गर्ने कुरा भारतप्रति द्वेष राखेको होइन । जसरी भारतले बंगलादेश सँगको सीमानालाई काँडेतार लगाएको छ, हामी नेपालीहरुले अन्तर्राष्ट्रिय कानूनअनुसार भारतसँग सुमधुर सम्बन्ध कायम राख्न सीमाको व्यवस्थापन गर्न जरुरी छ । सीमानाका सुस्ता, कालापानी, सन्दुकपुर अतिक्रमणमा परेको छ । ७७ भन्दा बढी ठाउँका सीमाना अतिक्रमणमा परेका छन् । हाम्रो सीमा समयमा नै नियमन नगर्ने हो भने मनमोहन नेतृत्वको सरकारले भारतसँग कतिपय कुरा समयानुसार हुनुपर्छ भनेर राख्दा भारतले स्वीकारेका थियो । तर मलाई आश्चर्य लाग्छ, २०५१÷०५२ को नेकपा एमालेको अल्पमतको सरकारले त त्यति कुरा उठाएको थियो भने अहिले कति दल मिलेर बनेको बहुमतको सरकारले किन कुरा नउठाएको ? सीमानाको रक्षाका कुरामा किन बौल्दैनन् । उहाँहरु संवेदशील हुनुहुन्न । कालापानीमा विदेशी फौज आएर मातृभूमिको छातिमाथि बुलडोजर चलाउँदा किन नबोलेको ? यो प्रश्न हरेक नेपालीले राजनीतिक दलका नेतालाई सोध्नुपर्छ, सीमानामा केही भयो भन्ने कुरा आएको थियो । परराष्ट्रमन्त्री चीन भ्रमणमा हुनुहुन्छ, त्यहाँ वार्ता गर्नुस् र चीनसँग सीमाका बारेमा केही विवाद भएको हो वा होइन, नेपाली जनतालाई खबर दिनुहोस् । उहाँले चीनले परराष्ट्रमन्त्री डा. नारायण खड्का अहिले चीन भ्रमणमा रहेको भन्दै नेपालसँगको सीमा विवादका बारेमा छलफल गरेर वास्तविकता जनतालाई जानकारी गराउनुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here