पोखरा,२२,साउन  ।

करिब ३ दशकअघि पोखरा मणिपालमा खुलेको मणिपाल शिक्षण अस्पताल अहिले गण्डकी प्रदेशकै केन्द्रविन्दु बन्न पुगेको छ । भारतीय लगानीमा स्थापना भएको अस्पतालले मोफसलमै सुविधायुक्त सेवामात्रै प्रदान गरेन, आसपासका क्षेत्रलाई पनि व्यावसायिक रुपमा टेको पनि दियो । ०४९ कात्तिक २ मा फूलबारीमा मणिपाल शिक्षण अस्पताल सञ्चालन गर्न नेपाल सरकार र भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपसँग सम्झौता भएको थियो । सम्झौतामा मणिपाल ग्रुपले पोखरामा ४९ वर्षसम्म करिब १ सय ९३ रोपनी जग्गा उपभोग गर्न पाउने उल्लेख थियो । तर, ०७८ भदौमा सम्झौता अवधि पूरा नहुँदै मणिपाल ग्रुपले अस्पताल बिक्री गरेर बाहिरिने निर्णय गर्‍यो । बतास अर्गनाइजेसनका आनन्दराज बतास र अटोवेजका नारायण पौडेलको समूहले करिब सवा तीन अर्ब रुपैयाँमा खरिद गरेको खबर बाहिरिएको थियो । तर, दुवै पक्षले हालसम्म कति रुपैयाँमा किनबेच भएको हो भन्नेबारे भने सत्य बाहिर ल्याइसकेका छैनन् । ४९ वर्षका लागि प्रयोग गर्ने सम्झौता भए पनि मणिपाल समूहले २९ वर्षमै पोखरा छोड्ने निर्णय गरेकोे हो । भारतीय लगानीमा खुलेको मणिपाल शिक्षण अस्पतालमा ‘बपौ’ (बतास/पौडेल) समूहको एक महिनाअगाडि इन्ट्री भइसकेको छ । बतास अर्गनाइजेसनका आनन्दराज बतासले ३ जुलाइमा समाजिक ह्वाट्स एपमा म्यासेज पठाउँदै नयाँ प्रमुख कार्यकारी अधिकृतका रुपमा अनिल अदुबिल र निर्देशकमा कृष्णमोहन श्रेष्ठलाई नियुक्त गरेको जानकारी दिएका छन् ।

प्रमुख कार्यकारी अधिकृतमा नयाँ नियुक्त भएका अनिल भारतीय नै हुन् । उनीसँग १५ वर्षदेखिको अनुभव रहेको बतासले बताएका छन् । त्यस्तै, निर्देशकमा नियुक्त भएका श्रेष्ठ पोखराकै हुन् । उनी पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत हुन् । अस्पतालमा कार्यरत कर्मचारीका अनुसार अस्पतालमा बतास समूह प्रवेश गरेको भन्नेबारे भने आफूहरुलाई आधिकारिक जानकारी नदिएको बताउँछन् । नयाँ व्यवस्थापकीय कर्मचारी आए पनि भारतीय व्यवस्थापन पक्षले पनि आफ्नो ‘च्याम्बर’ छोडेका छैनन् । ‘हामीलाई पनि आधिकारिक जानकारी  दिइएको छैन । तर, बतास समूह आएको थाहा छ,’ अस्पतालमा कार्यरत एक कर्मचारीले भने, ‘च्याम्बर पनि एकातिर नेपाली अर्कोतिर भारतीय पक्ष दुवैको छ ।’

ती कर्मचारीका अनुसार लेखा पक्ष नयाँ व्यवस्थापनले हेरिरहेकोे छ भने कलेजको शिक्षण पक्ष भने भारतीय पक्षले नै हेरिरहेको छ । ‘कर्मचारी व्यवस्थापनको विषयमा भने कोअपरेसन गर्नुहुन्छ,’ ती कर्मचारीले भने । पहिले अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा भानु भारद्वाज कार्यरत थिए । कर्मचारीसँग बैठक, सम्झौता गर्दा पनि अहिले पुरानै व्यवस्थापनले सम्झौता गर्ने र नयाँ व्यवस्थापन साक्षी बस्ने अर्का एक कर्मचारीले जानकारी दिए । प्रदेशकै सबैभन्दा ठूलो निजी अस्पताल भए पनि मणिपाल शिक्षण अस्पतालमा दशकअघिबाटै कर्मचारी र व्यवस्थापनको मनमुटाव हुँदै आएको छ । बेलाबेला अस्पतालमा कार्यरत कर्मचारीको आन्दोलनका कारण सेवासमेत महिनौं दिनसम्म प्रभावित हुँदै आएको छ । एक महिनाअघि पनि अस्पतालमा कार्यरत कर्मचारी आन्दोलनमै थिए । उनीहरुले सन् २०१० देखिका सम्झौता हालसम्म पनि पूरा नगरेका कारण पटकपटक आन्दोलनमा उत्रिनुपरेको बताउँछन् । सोहीबेला आन्दोलनरत पक्षसँग वार्ता गर्न पहिलो पटक नेपाली व्यवस्थापन पक्षले ‘इन्ट्री’ गरेको थियो । अस्पतालमा कार्यरत कर्मचारीका अनुसार करिब एक महिने लामो आन्दोलनपश्चात नयाँ व्यवस्थापनसँग केही बुँदामा छलफल भए पनि कार्यान्वयनमा भने आइसकेको छैन । उनीहरुले सन् २०१० मा कर्मचारी संगठनसँग गरेको सहमति कार्यान्वयन नगरेको, कर्मचारीलाई किरिया बिदा, सुत्केरी स्याहार बिदा नदिएको, उपदान नदिएको लगायत बताउँदै आएका छन् । मणिपाल समूह कर्मचारी संगठनले अति राजनीति गरिरहेको आरोप लगाउँदै आएको छ भने कर्मचारीले ऐनमा उपलब्ध सेवासुविधाबाट पनि प्रशासन पन्छिरहेको आरोप लगाउँदै आएका छन् । नयाँ व्यवस्थापन आएपछि आन्दोलनलाई तर्साउन बनाउन ‘बाउन्सर’ राखिएकोसमेत कर्मचारीको आरोप छ ।

आखिर मणिपालमा किन बारम्बार कर्मचारी आन्दोलनका कारण सेवा प्रभावित भइरहन्छ त ? ‘केही समस्या आउँछ भने पहलकदमी लिने समाधान खोज्ने जिम्मा त व्यवस्थापनकै हो,’ अस्पतालमा विभिन्न ३ कर्मचारी संगठनका साझा समन्वय समितिका अध्यक्ष जीवन थापा भन्छन्, ‘व्यवस्थापनले त्यो नगरिसकेपछि त आन्दोलन हुने, मुठभेड हुने, विवादहरु आउनु त स्वभाविक नै हो । कर्मचारीले आफ्नो अधिकार खोज्ने नै भए । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मणिपाल इकाई अध्यक्ष अमृतबाबु पौडेल पछिल्लो पटक एक महिनाअघि आफ्ना मागहरु पूरा गर्न सम्झौता भए पनि आशंका उस्तै रहेको सुनाउँछन् । ‘नयाँ व्यवस्थापनसँगको छलफलमा हाम्रा मागहरु सुन्न र लागू गर्न तयार भए पनि विरोध, धर्ना अहिले स्थगित छ । यद्यपि अझै पनि शंका छन्,’ उनले भने, ‘तर, लामो समयसम्मका करार कर्मचारीको व्यवस्थापन अझै सुरु हुन सकेको छैन ।’ तर, नयाँ व्यवस्थापन आफूहरुको मागप्रति गम्भीर रहेकाले पूरा हुनेमा विश्वस्त रहेको उनीहरु बताउँछन् ।मणिपालका नयाँ निर्देशक कृष्णमोहन श्रेष्ठ मणिपालका कर्मचारीको आन्दोलन, विरोधकै कारण साख पनि खस्किएको बताउँछन् । कर्मचारी संगठनको आन्दोलनकै कारण आम नागरिकमा पनि डर, त्रास र भय उत्पन्न हुन थालेको उनको भनाइ छ । 

‘हिजो मणिपाल पोखरामा स्थापना भइरहँदा हामीले गौरवानुभूति, हर्षानुभूति गरेकै हौं । आज त्यही मणिपाल कर्मचारीको आन्दोलनले गर्दा आम नागरिकमा एउटा भय, त्रास उब्जनी भइरहेको छ,’ निर्देशक श्रेष्ठले भने, ‘त्यसले गर्दा पनि अस्पताल सञ्चालनमा अवरोध सिर्जना भइरहेको अवस्था पनि हो । यसले बाहिर नकारात्मक सन्देश गइरहेको छ । अहिले भोग्दै पनि छौं । तर, अहिले आफूहरुको व्यवस्थापकीय नेतृत्वमा पुगिसकेपछि भने आन्दोलनरत असन्तुष्ट पक्षसँग सहमतिको धेरै नजिक पुगिसकेको श्रेष्ठले दाबी गरे । ‘विवाद अब अब साम्य हुने बाटोमा छ । अस्पताल चलाउन पनि सहमतिमा पुग्नैपर्छ,’ उनले भने, ‘अर्गनाइजेसनप्रति अपनत्व महसुस गर्न सकिएन भने अर्गनाइजेसन ग्रो हुन सक्दैन । यसमा म्यानेजमेन्ट गम्भीर छौं, लागिरहेका छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here