काठमाडौं,२२, साउन  ।

नेकपा (एकीकृत समाजवादी)की सांसद डा. पुष्पाकुमारी कर्ण कायस्तले नेपाली सेना, नेपाल प्रहरी र सशष्त्र प्रहरी छनौटका लागि लोक सेवा आयोगले लिने परीक्षा एकैपटक हुने व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ । आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कायस्तले सरकारी सेवा प्रवेशका लागि लिइने परीक्षा व्यवस्थित बनाउनुपर्ने दायित्व भएकाले सरकारले सो अनुसारको परीक्षा लोक सेवा आयोगबाट लिने व्यवस्था गर्नुपर्ने माग गर्नु भएको हो । उहाँले बेरोजगार युवायुवतीहरुलाई तनाव हुने गरी लोक सेवा आयोगले लिने परीक्षालाई सहज बनाउन पनि सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । सांसद कायस्तले स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान पनि सरकारलाई दवाव दिनु भयो । उहाँले भन्नु भयो, ‘लोक सेवा आयोगको काम एवम् तौरतरिकामा भने समयानुकूल सुधार हुनु जरुरी छ । लोक सेवाको सूचना प्रकाशित भएपछि हाम्रा युवायुवतीहरु फारम भर्न दश ठाउँमा पुग्नु पर्ने वा दशौं कार्यालयका लागि आवेदन दिनुपर्ने बाध्यता छ । यसबाट हाम्रा युवायुवतीहरुको महत्वपूर्ण समय खेर जाने तथा सिमित स्रोत एवम् स्रोतको दूरुपयोग नै भएको छ । परीक्षार्थीले आवेदन दस्तुर, अध्ययन सामग्री खरिद तथा ट्युसन फीका लागि धेरै धनराशी खर्च गर्नु परेको छ । देशका प्रमुख शहरहरुमा टयुशन कक्षाको व्यापार मौलाएको छ । उच्च तहका प्रशाशक एवम् कर्मचारीको महत्वपूर्ण समय टयुशन कक्षामा व्यथित हुने तथा राज्यले ती प्रशासक तथा कर्मचारीबाट अपेक्षित प्रतिफल नपाईरहेको अवस्था छ । युवायुवतीलाई सार्वजनिक प्रशासन वा सरकारी सेवामा प्रवेशका लागि पटकपटक दिनुपर्ने कार्यले पाठ्यक्रम अनुसारको पाठ्य सामग्री अध्ययन गर्नुपर्ने तथा अध्ययन सामग्री खरिद गर्नुपर्दा एक किसिमको हैरानी वा तनाव भएको छ । बेरोजगार युवायुवतीले तनावग्रस्त हुँदै परीक्षाको तयारी गर्नुपर्ने तथा अध्ययनका लागि ठूलो धनराशी खर्च गर्नुपर्ने अवस्थाबाट मुक्ति दिलाउने गरी काम गर्ने जिम्मेवारी सरकारको हो । लोक सेवाले परीक्षा लिने, निजामती सेवा, सुरक्षा फौज तथा संगठित संस्था सार्वजनिक संस्थानका पाठ्यक्रममा सेवा एवम् संगठनको कार्य प्रकृति अनुसार समूह विभाजन गरी एकै पटक परीक्षा संचालन गरी सिफारिस हुने गरी देहाय बमोजिमको व्यवस्था गर्न आवश्यक छ । तर हाल निजामती सेवा र संघीय संसद सेवाका लागि एउटै पाठ्यक्रमबाट एकैपटक परीक्षा संचालन गरी मेरिट सिष्टमको आधारमा गर्ने कार्य भईरहेको छ तर निम्न लिखित व्यवस्था गर्न सरकारसँग माग गर्दछु । नेपाली सेना, नेपाल प्रहरी र सशष्त्र प्रहरी बलका लागि एउटै पाठ्यक्रम निर्माण गर्ने तथा एकैपटक परीक्षा संचालन गरी मेरिट सिष्टमको आधारमा सिफारिस गर्ने । सबै संगठित सार्वजनिक संस्थाका निम्ति एउटै पाठ्यक्रम निर्माण गर्ने तथा एकैपटक परीक्षा संचालन गरी मेरिट सिष्टमको आधारमा सिफारिस गर्ने । राष्ट्रिय विमा कार्यक्रम सरकारले संचालन गरेको छ । तर प्रभावकारी नभएको गुनासो सदैव उठिरहेकै छ । स्वास्थ्य विमा कार्यक्रम अन्तरगत नागरिकले पाउनुपर्ने सुविधा सहज ढंगले पाउने व्यवस्था गर्न सरकारले गर्नैपर्छ । सांसद कायस्तले स्वास्थ्य विमा कार्यक्रम अन्तरगत नागरिकले पाउने सुविधा सहज ढंगले पाउन नसकेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here