काठमाडौं,२१,साउन  ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले हार्नै नमिल्ने बताउनु भएको छ ।आफ्नो पार्टीले सो निर्वाचन हार्दा देशले हार्ने भएकाले जित्नैपर्ने अवस्था आईपरेको अध्यक्ष ओलीको जिकीर थियो । पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले शुक्रबार भक्तपुरको बोडेमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले देशलाई हार्न नदिनका लागि पनि आफ्नो पार्टीले आगामी निर्वाचन जित्नैपर्ने भन्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिनु भयो । सत्तारुढ गठबन्धन र यसका नेताहरुले देशलाई दूगर्तिमा डुबाएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट देशलाई जोगाउन पनि आफूहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विजयी हुनुको विकल्प नभएको दोहो¥याउनु भयो । उहाँले सत्तारुढ गठबन्धनका आवद्ध नेताहरुले आ–आफ्ना स्वार्थका लागि देशविरुद्ध जस्तासुकै कुकर्म गर्न पनि पछि नपर्ने आरोप लगाउनु भयो । गठबन्धनका नेताहरु शेरबहादुर देउवाको गन्तव्य मेडम साहेव भएको, प्रचण्डको गन्तव्य सुपुत्री भएको, मोहन विक्रम सिंहको गन्तव्य प्युठान भएको भन्दै ओलीले ठट्यौली पारामा उनीहरुबाट देशको हित नहुने दावी गर्नु भयो ।  मुख्य फोकसचाँही निर्वाचनको तयारीमा काम गर्ने हो । अहिलेको निर्वाचन हामीले हार्न मिल्दैन । आगामी निर्वाचनमा हामीले हार्नै मिल्दैन । नेकपा एमालेका लागि त केही छैन । प्रतिपक्षमा बस्छ । प्रतिपक्षमा बसेर जनताको पक्षमा आवाज उठाउँछ । देशको पक्षमा बोल्छ, आवाज उठाउँछ । राष्ट्रियताको पक्षमा, लोकतन्त्रको पक्षमा, स्वच्छताको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा बोल्छ । आवाज उठाईरहन्छ । यसलाई काम गर्न कार्य क्षेत्र सिद्धिने त होइन । तर, एमालेले हार्दा देश हार्छ । एमालेले जित्नैपर्ने कारण के छ भने देश जिताउनुपर्नेछ । देशलाई हार्न दिनुहुने छैन । एक वर्षमा यो परमादेशी गठबन्धन सरकारले देशलाई यसरी दूगर्तिमा लगेको छ । निर्लज्ज हुने गरी भ्रष्टाचारमा डुबाएको छ । यिनको कुनै गन्तव्य नै छैन । अव मोहन विक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य के हो भन्दा मेडम साहेव । प्रचण्डको गन्तव्य के हो भन्दा सुपुत्री । यस्तायस्ता गन्तव्य लिएर हिँडका छन यिनीहरु । त्यसका लागि जे पनि गर्छन । यसका लागि देशका विरुद्ध जस्तासुकै कुकर्म गर्न पनि तयार छन । माधव नेपालको त जिन्दगी नै छटपटीमा बित्छ क्या । उनको गन्तव्यसन्तव्य केही पनि छैन ।

अध्यक्ष ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले संगठित ढंगले इमान्दार प्रयास गर्न सके बहुमत प्राप्त गर्न सक्ने सम्भावना रहेको दावी गर्नु भयो । पार्टीको सरकार नढल्नका लागि पनि लागि आगामी निर्वाचनमा बहुमत चाहिने र त्यसका लागि इमान्दार प्रयास पार्टीका नेता, कार्यकर्ताले गर्नुपर्ने उहाँले बताउनु भयो । अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई हुँदाहुँदै एमालेले गरेको विघटन बदर गर्ने र अरुले गरेको विघटनलाई सदर गर्ने काम अदालतले गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । हामीलाई दुई तिहाई बहुमत चाहिने हो । तर तत्कालका लागि त्यो सम्भावना छैन । तर सम्भावना के छ भन्दा हामीले इमान्दार प्रयासलाई संगठित ढंगले, योजनावद्ध ढंगले अगाडि बढायौं भने बहुमत प्राप्त गर्न सक्छौं । सरकार गठन गरेपछि पनि अप्ठयारो नपर्ने गरी हामीले बहुमतको सरकार बनाउनु पर्दछ । तर भने फेरी अदालतको प्रयोग गरेर हामीलाई अप्ठयारो पार्न सक्दछन । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको अधिकार हो । तर व्यक्तिको अनुहार हेरेर सर्वोच्च अदालतले समेत फैसला गर्ने गरेको छ । अध्यक्ष ओलीले मुलुकलाई समृद्ध बनाउने आकांक्षा एमालेले लिएको र त्यसैलाई पूरा गरेरै छोडने दृढता समेत व्यक्त गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here