काठमाडौं,२१,साउन  ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्न माग गरेको छ । विभिन्न उपसमिति समेत गठन गरेर सरकार प्रतियोगिताको तयारीमा जुटिसक्दा काँग्रेसनिकट नेपाल लोकतान्त्रिक खेलकुद संघले सो माग गरेको हो । पोखरामा शुक्रवार पत्रकार सम्मेलनमा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्र शेरचनले आफूहरुलाई अपनत्वसमेत नदिइएको र दशैंतिहारको बेलामा खेलकुद प्रतियोगिता उपयुक्त नहुने भएकोले मिति परिमार्जन हुनुपर्ने बताउनु भयो । उहाँले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लागि यो उपयुक्त समय नभएको बताउनु भयो । संघले प्रतियोगितामा आफूहरुको अपनत्व हुने गरी कुनैपनि समितिमा नराखिएकोमा आपत्तिसमेत जनाएको छ । संघले मिति सार्नुपर्ने मागसहित गण्डकीमै हुने प्रतियोगितामा प्रदेशमा संघले पनि अपनत्व पाउनुपर्ने, सातै प्रदेशमा खेलकुदको लागि आवश्यक तयारी, प्रशिक्षण, छनोटबिना नै प्रतियोगिता आयोजना गरिएकोले यथेष्ट समय लिई आवश्यक पूर्व तयारी गरिनुपर्ने माग गरेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकी अध्यक्ष हरिश्वर पोखरेलले गण्डकीका हरेक जिल्लामा कम्तीमा १ खेल खेलाउने व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । पोखरामा ३९ वर्षअघि दोस्रो संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो । झन्डै ४ दशकपछि आगामी असोज २८ देखि कात्तिक ३ सम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडी र प्रशिक्षक गरी करिब ९ हजार जनाको सहभागिता हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here