धनगढी,२०,साउन ।
सुदूरपश्चिम प्रदेशमा अस्पताल नै भर्ना हुनु पर्ने गरी कोरोना भाइरसको संक्रमण फैलिएको छ । कोरोना संक्रमण भएर स्वास्थ्यमा जटिल समस्या सिर्जना भएपछि प्रादेशिक अस्पताल भर्ना हुनेको संख्या दैनिकजसो बढ्न थालेको सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले जानकारी दिए । उनकाअनुसार शुक्रबारसम्म कोभिड अस्थायी अस्पतालमा १४ जना संक्रमितलाई भर्ना गरिएको छ । एक जनालाई आईसीयू, ९ जनालाई अक्सिजन सपोर्टमा र अन्य ३ जनालाई जरनल वार्डमा राखिएको श्रेष्ठले बताए । पीसीआर प्रयोगशालामा भइरहेको परीक्षणमा संक्रमण पुष्टि हुनेसँगै प्रादेशिक अस्पतालमा उपचारका लागि पुग्ने संक्रमित बढेका हुन् ।
सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर निराजनदत्त शर्मा पौडेल कोरोना भाइरसको संक्रमण दैनिक रुपमा बढ्न थाले पनि अहिलेसम्म संक्रमितमा धेरै जटिल खालका समस्या नदेखिएको बताउँछन् । ‘कोरोना संक्रमणको दर फेरि बढ्न थालेको छ तर हामी कहाँ आइरहेका केसहरु हेर्दा पहिले जस्तो कोभिड निमोनिया, श्वासप्रश्वास सम्बन्धी धेरै जटिलता भएको देखिएको छैन,’ शर्माले अनलाइनखबरसँग भने, ‘अधिकांश व्यक्तिले भाइरसविरुद्धको भ्याक्सिन लगाइसकेको र मानिसमा रोग प्रतिरोधी क्षमता विकास भएर पनि हुनसक्छ । उपचारका लागि अस्पताल पुग्ने अधिकांश रुघाखोकी, स्वर परिवर्तन हुने, शरीर दुःख्ने, झाडापाखाला हुने, खान मन नलाग्ने लक्षण भएका बिरामीहरुमा संक्रमण देखिरहेको बताउँदै शर्माले छिटफुट रुपमा केही व्यक्तिहरु निमोनिया र श्वासप्रश्वासको समस्या लिएर पनि आइरहेको जनाए । यस्ता खालका लक्षण देखिएमा जथाभावी औषधी सेवन नगरी चिकित्सकको सल्लाह लिन आग्रह गरिएको छ ।








