काठमाडौं,१८ साउन, ।
तराई मधेशमा ढकिया (ढक्की) मै राखेर नागरिकता तरकारी जस्तै खरीद बिक्रि हुन्छ भन्ने प्रचारबाजीमा लागेका र त्यस्तो सोच राख्नेहरुमाथि मंगलबार एक सन्देशमूलक नाटक मञ्चनमार्फत चोटिलो प्रहार गरिएको छ ।
स्थानीय जिल्ला समन्वय समितिको सभाकक्षमा सरिता फाउन्डेशन र आसमान नेपालद्वारा संयुक्त रुपमा आयोजना गरिएको “ढकियामे नागरिकता” विषयक नाटकका कलाकारहरुले कला प्रस्तुतीमार्फत यस्तो चोटिलो प्रहार गरेका हुन् । उनीहरुले नागरिकताको विषयमा भोटको राजनीति गर्ने नेता र नागरिकता बनाउने टोलीमा गाउँ गाउँमा खटिने कर्मचारीले सोझासाझा जनतासँग गर्ने व्यवहारप्रति पनि अभिनयमार्फत प्रहार गरेका छन् । नागरिकता नहुँदा शिक्षण संस्थामा भर्ना लिन, बैंकमा खाता खोल्न, जग्गाजमिन खरीद गर्न, सिमकार्ड लिन, जागिरका लागि आवेदन दिन, जन्म दर्ता, विवाह दर्ता गराउन, सामाजिक सुरक्षा भत्ता लिन लगायतका विभिन्न समस्याले छटपटाइरहेका नागरिकताविहीनको पीडा मार्मिक ढंगले अभिनयमार्फत प्रस्तुत गर्दा अधिकांश दर्शकको आँखा रसाएको थियो । ७५ मिनेटको नाटकमा नाट् यकर्मी सरिता साह, अनिल कुर्मी, राज शर्मा पंगेनी, सुजिता साह, रमिता यादव, सोमनाथ खनाल, सुदिपजंग कार्की, संजय मुढीयारी, रोहित साह, कृष्णकुमार महतो, हाङ–ओ–हाङ राई, सरस्वती अधिकारी र सुदिप पटेलले अभिनय गरेका थिए । नाटकले चेतनामूलक सन्देश दिन खोजेको उक्त नाटकका लेखक एवं निर्देशक समेत रहेकी सरिता साहले बताइन् ।तराई मधेशमा ढकिया (ढक्की) मै राखेर नागरिकता बिक्रि वितरण हुन्छ भन्ने सोचलाई चिर्दै वास्तविकता अर्कै रहेको र ढकीया रित्तै रहेको देखाउने प्रयासस्वरुप उक्त नाटक प्रदर्शन गरिएको उनले बताइन् । उनले भनिन, ‘गलत प्रचारबाजी र तराई मधेशमा नागरिकता नपाउँदा देखिएको दयनीय र भयावह अवस्था बारे सरोकारवालाको ध्यानाकर्षण गराउन र सोच परिवर्तन गराउन यस्तो सन्देशमूलक नाटक प्रदर्शनमा ल्याएका हौं ।’ नागरिकता संशोधन सम्बन्धी विधेयक अहिले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको अवस्था छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै उक्त विधेयक कानूनको रुपमा लागु हुने र आफूहरुले नाटक मञ्चनमार्फत उठाएका पीडाहरुको धेरै हदसम्म सम्बोधन हुने आयोजक संस्थाको विश्वास छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि जन्मसिद्धका सन्तानले बंशजको नागरिकता लिने बाटो खुल्ने छ भने नेपाली नागरिकसित विवाह गर्ने विदेशी महिलालाई वैवाहिक अंगिकृत नागरिकता लिन पनि कुनै कठिनाई नहुने कार्यक्रममा सहभागी जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहले बताए ।








