काठमाडौं,१७ साउन, ।
काठमाडौं महानगरपालिका-१४ कुलेश्वरकी सविता क्षेत्रीले १ साउनदेखि आफ्नो घरमा कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर राखिन् ।
काठमाडौं महानगरपालिकाले सूचना जारी गरेपछि त्यसै अनुसार उनले फोहोर छुट्टाछुट्टै राखिन् । तर ७ साउनसम्म गाडी नआएपछि बाध्य भएर उनले छुट्याएर राखेको फोहोर पनि सडकमै लगेर फालिन् । कुहिने फोहोर सडकमै फाल्न बाध्य भएपनि उनले नकुहिने फोहोर १२ साउनसम्म घरमै राखेकी थिइन् । तर त्यो फोहोर पनि उनले सडकमै फालिन् ।
झण्डै दुई सातासम्म घरमै छुट्टाएर राखेको फोहोर लिन गाडी नआएपछि सडकमा नफालेर कहाँ राख्ने त ? अहिलेसम्म पनि फोहोर लिन गाडी आएको छैन, छुट्याएर मात्रै के गर्ने रोडमै फाल्नुपरे पछि’ उनले प्रश्न गरिन् ।काठमाडौं महानगरपालिका वडा नम्बर ३२ नरेफाँट क्षेत्रमा पनि फोहोर उठाउने गाडी नआउँदा वर्गीकरण गरी राखेको फोहोर स्थानीयले एकै ठाउँमा थुपार्न थालेका छन् ।
नरेफाँटमा डेरा गरी बस्ने सुजन न्यौपानेका अनुसार गत वैशाखको स्थानीय तहको निर्वाचनपछि यस क्षेत्रमा एकपटक मात्रै फोहोर उठाउने गाडी पुगेको छ । त्यसयता गाडी नपुग्दा फोहोर छुट्याउनु र नछुट्याउनुको कुनै अर्थ नरहेको उनले बताए ।कुलेश्वर र नरेफाँट यसको उदाहरण मात्रै हुन् । महानगरभरि यसरी वर्गीकरण गरेर राखेको फोहोर महानगरले समयमा नउठाउँदा छुट्याएर राखेको फोहोर पनि सडकमा एकै ठाउँमा फाल्ने गरेको पाइएको छ ।
महानगरमा निजी क्षेत्रले सडकको फोहोर उठाउँदैन । महानगर आफैंले उठाउँदै आएको प्रवक्ता नवीन मानन्धर बताउँछन् । उनका अनुसार अहिले पहिलो चरणमा सडकमा रहेको फोहोर उठाएर बञ्चरेडाँडा पुर्याउने प्राथमिकता हो ।महानगरको फोहोर व्यवस्थापनको फोकल पर्सन रहेका मेयर बालेनका सचिवालय सदस्य सुनील लम्सालका अनुसार १ साउनदेखि महानगरले पहिले सडकका मिश्रित फोहोर बञ्चरेडाँडा लैजाने र पछि वर्गीकरण गरेका फोहोर उठाएर व्यवस्थापन गर्ने योजना रहेको थियो ।
१ साउनदेखि सडकमा जम्मा भएका फोहोरमात्रै विना वर्गीकरण बञ्चरेडाँडामा लगिने र अन्य फोहोर वर्गीकरण गरेर मात्रै जाने लम्सालका बताएका थिए । तर काठमाडौंवासीले वर्गीकरण गरेर जम्मा गरेको फोहोर नउठेपछि सडकमा फेरि कुहिने र नकुहिने फोहोर एक ठाउँमा मिसिएर थुप्रिन थालेका छन् । यसरी जम्मा भएको फोहोर महानगरले उठाइरहे पनि घर-घरको फोहोर बेलामा नउठाइँदा सडकमा जम्मा हुने क्रम निरन्तर छ ।काठमाडौंको फोहोर बञ्चरेडाँडा लैजाने सडक अहिले एकतर्फी मात्रै सञ्चालनमा छ । महानगरका प्रवक्ता मानन्धरका अनुसार काठमाडौंमा जम्मा भएको फोहोर दैनिक ३ सय ट्रकसम्म उठाएमा मात्रै नयाँ फोहोर थुप्रिदैन तर अहिले बढीमा ६० गाडी मात्रै बञ्चरेडाँडा ल्यान्डफिल साइट पुगिरहेको छ ।
‘वर्षाको समय भएर बाटो एकतर्फी मात्रै चलिरहेको छ । बाटो क्लियर नहुँदा फोहोर बोकेको गाडी सरासर जान सकिरहेका छैनन् । ल्यान्डफिल साइटमा गाडी नगएपछि फोहोर उठ्न नसक्नु स्वभाविक नै हो’ उनले भने, ‘बाटोलाई देखाएर केही निजी कम्पनीहरुले फाहोर उठाइरहेका छैनन् त्यसले गर्दा सडकमा फोहोर आइरहेको छ । त्यही फोहोर महानगरले उठाउन परिरहेको छ । सडकमा फालेका फोहोर मिश्रित नै हुन्छन् ।’प्रवक्ता मानन्धरले अब राति पनि फोहोर ढुवानीका लागि सिफ्ट चलाउने विषयमा आन्तरिक छलफल गरिरहेको बताए ।
काठमाडौं महानगरका वातावरण तथा सरसफाइ समितिका संयोजक एवं वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जनले फोहोर उठाउन अधिकतम प्रयास गरिरहे पनि नसकिएको स्वीकार गर्छन् ।‘हामीले घर घरमा गएर फोहोर उठाउन खोजेकै हौं । बञ्चरेडाँडामा सबै फोहोर लैजान सकिरहेको छैन, जसले गर्दा अडि्करहेको छ, त्यसकारण केही फोहोर सडकमा आए होलान् तर महानगरले अब छिट्टै छलफल गर्नेछ । सधैंभरि यसरी फोहोर थुप्रिँदैन’ महर्जनले भने । उनले महानगरले फोहोर व्यवस्थापनका लागि अन्य विकल्पमा पनि निरन्तर प्रयास गरिरहेका बताए ।
बञ्चरेडाँडाका स्थानीयले भदौदेखि बन्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा यसअघि नै गरिसकेका छन् । जसले गर्दा महानगरपालिकाले १ भदौदेखि अर्को समस्याको सामना गनुपर्ने देखिएको छ ।पत्रकार सम्मलेनमार्फत स्थानीयले १ भदौदेखि सधैंका लागि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने बताइसकेका छन् । महानगरले सम्झौताअनुुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरे डाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै फोहोर फाल्न नदिने घोषणा गरेको सरोकार समितिका संयोजक श्रीराम ढुंगाना बताउँछन् ।
महानगरले राम्ररी फोहोर नउठाएको दुई हप्ता भन्दा धेरै भइसकेको छ । ४ साउनदेखि सडक मर्मत गर्ने भन्दै सूचना जारी गरेर एक हप्ता फोहोर नउठाएको महानगरले त्यस अगाडि पनि राम्ररी उठाउन सकेको थिएन ।








