विराटनगर,१७,साउन ।
प्रदेश १ सरकारले मात्र होइन, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुले पनि दशौं तथा अन्तिम अधिवेशनबाटै प्रदेशको नाम राख्ने बताएका थिए । प्रदेश सभाबाट बजेट पारित भए लगत्तै प्रदेशको नामाकरणको विषय टुंग्याउने उनीहरूले बताएका थिए । जसअनुसार दलहरुले पटक पटक आन्तरिक र सर्वदलीय बैठक बसाले पनि । तर नाममा सहमति जुटेन । सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गते बोलाएको बैठकमा नामका विषयमा दलहरू आफ्नै अडानमा रहेपछि त्यसयता त सम्वाद नै रोकिएको छ । नामका विषयमा सहमतिका लागि सभामुखले साउन १० गतेदेखि १७ गतेसम्म बैठक स्थगित गरी छलफलका लागि समय दिएका थिए । दलका नेताहरूको सल्लाहमा उनले सात दिनको समय दिए पनि यो समयमा दलहरूले सम्वाद गरेनन् । भुगोललाई आधार मानेर नाम राख्ने कि पहिचानलाई आधार मानेर प्रदेशको नाम राख्ने भन्नेमा दलहरूबीच विवाद छ । नेकपा एमालेले कोशी प्रदेश र कांग्रेसले सप्तकोशी प्रदेश प्रस्ताव गरेका छन् । दुवै दल भित्र पहिचानको पक्षमा केही सांसद छन् । दुवै दलले प्रस्ताव गरेको नाम एउटै नदीको हो । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसहित राप्रपा बाहेकका साना दल बहुपहिचानको पक्षमा छन् । माओवादी केन्द्रको प्रदेश कमिटी बैठकले प्रदेशको नाम कोशी किराँतमा सहमति खोज्ने निर्णय गरेको थियो । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो दलहरू आफ्नै व्यस्ततामा रहेका कारण छलफल हुन नसकेको बताउँछन् । ‘दलहरू आफ्नै व्यस्ततामा रहे,’ उनले भने, ‘यो बीचमा नामका विषयमा छलफल भएकोे छैन । नामका विषयमा दलहरू अडानमा रहेका कारण छलफल नभएको बताउँछन् नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला । ‘अस्ति सभामुखले बोलाएको बैठक पछि बसेका छैनौं,’ कोइरालाले भने, ‘सबै दल आफ्नै अडानमा छन्, बस्दा टुङ्गोमा पुग्नेगरी बस्नु पर्छ । सल्लाह गरेर बैठक बस्ने जानकारी दिँदै उनले प्रकृयामा लैजानुपर्छ भन्ने पक्षमा नेपाली कांग्रेस रहेको बताए ।
नेकपा एमाले भने सत्ता पक्षले नामको विषयमा छलफल गर्न नचाहेको आरोप लगाएको छ । एमाले नेता जीवन घिमिरे नेपाली कांग्रेसले बैठक बोलाउने सहमति भए पनि बैठक नबोलाएको बताए । ‘सभामुखले बोलाएको सर्वदलीय बैठकपछि नेपाली कांग्रेसले बैठक बोलाउने सहमति थियो,’ उनले भने, ‘तर आजसम्म कांग्रेसले खबर गरेको छैन । ‘प्रदेशको नामकरण प्रदेश सभाको २ तिहाइले गर्ने हो, नामकरण पहिचानको आधारमा गर्नुपर्छ भन्नेमा हाम्रो पार्टी प्रष्ट छ,’ माओवादी केन्द्रका नेता आङ्बो भन्छन्, ‘प्रदेशमा हाम्रो पार्टीलाई प्राप्त जनमत एजेण्डाको रक्षा गर्नेसम्मको मात्र हो । सदन र सरकारबाट हामी आफ्नो भूमिका निर्वाह गरिरहेका छौं । नेकपा एमालेले कोशी बाहेकको नाममा सहमति गर्न नसक्ने बताएपछि छलफल अघि नबढेको सत्ता पक्षकोे तर्क छ । एमालेको अडानकै कारण मुख्यमन्त्री राजेन्द्र राईले पहिचानका विषयमा भड्किलो अभिव्यक्ति दिइरहेको सत्ता पक्षका नेताहरू बताउँछन् । ‘नामका विषयमा एमाले रिजिक्ट छ,’ कांग्रेसका एक सांसदले भने, ‘एमालेका कारण मुख्यमन्त्रीको भडकाउ खालको अभिव्यक्ति आएको हो । एमालेको अडान बाहेक अन्य पहिचान झल्कन सक्ने नाममा सहमति खोज्न माओवादी तयार छ । पछिल्लो समय माओेवादीले विजयपूर नामका विषयमा छलफल गर्न सकिने बताएको छ । ‘विजयपूरसँग किराँत र लिम्बूहरूको सभ्यता जोडिन्छ,’ माओवादी केन्द्रका एक सांसदले भने, ‘एमाले कोशीको अडानबाट पछि हटे विजयपूरमा सहमति हुनसक्छ । एमाले नेता घिमिरे कोशी बाहेकका विषयमा छलफल गर्न आफूहरु तयार रहेको बताउँछन् । ‘हामी एकल जातीय पहिचानमा जाँदैनौं, बहुपहिचानमा छलफल गर्न सक्छौं,’ उनले भने, ‘विजयपूरमै सहमति खोज्ने हुँदा छलफलमा प्रस्ताव आओस् । प्रदेशको नामका विषयमा सत्ता पक्ष नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमाले नजिक छन् । दुई दल मिलेर प्रस्तुत भए प्रदेशले नाम प्राप्त गर्नेछ । तर मुख्यमन्त्री राजेन्द्र राई भूगोलका आधारमा नाम राख्ने अवस्था आए अधिवेशन अन्त्य गर्ने तयारीमा छन् । मुख्यमन्त्रीले नराम्रो नाम आउनु भन्दा अर्काे संसदलाई नाम राख्ने जिम्मेवारी दिनुपर्ने बताइसकेका छन् । मुख्यमन्त्रीको अडानले गर्दा नेपाली कांग्रेस एमालेसँग नजिक नभएको एक सांसदले बताए ।
‘कांग्रेस एमाले मिल्ने हो भने अरु २ जना सांसद थपिदा दुई तिहाई पुग्छ,’ कांग्रेसका एक सांसदले भने,‘मुख्यमन्त्री र प्रदेश प्रमुख पहिचानको पक्षधर हुन्, कांग्रेस एमालेले भूगोलका आधारमा नाम राख्न सहमति गरे अधिवेशन नै अन्त्य हुन्छ । ९० जना सांसद रहेको प्रदेश १ मा नेपाली कांग्रेससँग २१ र एमालेसँग ३९ सांसद छन् । दुई तिहाईका लागि ६१ मत आवश्यक पर्छ । माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाको ३, राप्रपा र संघिय लिम्बुवन राष्ट्रीय मञ्चको एक–एक जना सांसद छन् ।p






