१७ श्रावण २०७९, मंगलवार ।
काठमाडौँ उपत्यकाको फोहर ढुवानी गर्ने मुख्य सडकका रुपमा रहेको बालाजु–त्रिशूली सडक निर्माण सुरु भएको आठ वर्षमा निर्माण अलपत्र बनेको छ । पटक–पटक अवधि थप्दासमेत सम्पन्न नभएपछि अहिले सडक विभागले ठेक्का तोडेको छ ।
सडक अवस्था खराब हुँदा एम्बुलेन्सलगायत अरु अत्यावश्यक सेवा प्रवाहमासमेत कठीनाइ भइरहेको स्थानीयवासी र जनप्रतिनिधिले गुनासो गर्दै आएका छन् । दुई ठेक्कामा निर्माण अघि बढाइएकोमा एउटा ठेक्कामा ठेक्का तोडइसकिएको र अर्काेमा ठेक्का तोड्दा निर्माण व्यवसायी अदालती प्रक्रियामा गएकाले निर्माण अवरुद्ध बनेको हो ।बालाजु–रानीपौवा सडक खण्ड निर्माणको जिम्मेवारी सन् २०१४ जुन ५ मा सैलुङ (नेपाली कम्पनी) र एआईपीएल (भारतीय कम्पनी) लाई दिइएकोमा गत असार ५ गते तोडिएको थियो । कूल १७ दशमलव एक किलोमिटर लम्बाइको सो सडक निर्माणका लागि सात पटकसम्म अवधि थप गरिएको थियो । पछिल्लो पटक चैतमा अवधि सकिएको सडक विभागका महानिर्देशक अर्जुनजङग थापाले बताए । सो ठेक्कामा भौतिक प्रगति ५४ प्रतिशत र वित्तीय प्रगति ४९ दशमलव ३२ प्रतिशत रहेको थियो ।
सडकको अवधि थप गरिरहँदा त्यो अवधिभित्रै सम्पन्न गर्न पटक–पटक निर्माण कम्पनीलाई सचेत गरिएको विभागका महानिर्देशक थापाले बताए । उनका अनुसार सडकको नियमित मर्मत सम्भारमा ध्यान नदिएकाले वर्षाको समयमा यातायात सञ्चालनमा कठीनाइ भएर स्थानीयवासीले सास्ती भोगेका थिए ।आठ वर्ष वितिसक्दा निर्माणस्थलमा कुनै पनि सामग्री नरहेको, कामदार नभएको र निर्माणको गतिविधि ठप्प रहेको पाइएको थियो । उनले भने, “यसअघि निर्माण भइसकेका संरचना र अरु काम पनि स्वीकार गर्न नसकिने अवस्थामा पाइएको थियो ।”
निर्माणका क्रममा समस्या देखिएपछि परामर्शदाताले पटक–पटक लिखित रुपमा पत्राचार गरेर त्रुटि सच्याउन भनिएको भए पनि बेवास्ता भएको महानिर्देशक थापाले बताए । दातृ निकाय, योजना कार्यालयसँगको बैठकमा पटक–पटक अवधिभित्रै सकाउछु भने पनि निर्माण व्यवस्थापनमा कति पनि चासो नदेखाएको उनले बताए ।सो ठेक्का तोडेसँगै योजना कार्यालयले सार्वजनिक खरिद ऐन, २०६४ र सम्झौताका आधारमा निर्माण कम्पनीलाई कालो सूचीमा राख्नका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिएको छ । निर्माण कम्पनीको नाममा रहेको रु एक करोड ५५ लाख २४ हजार जमानत जफत गरी सडक विभागको खातामा जम्मा गरिएको छ । जिल्ला अदालत पाटनबाट गत असार ८ मा जारी भएको ठेक्का अन्त्य निर्णयसम्बन्धीको अन्तिम आदेश जारी भएको छ ।
चौतिस दशमलव ०९ किमी लम्बाइको रानीपवौवा–त्रिशूली सडकमा ठेक्का तोडिसक्दासम्म सो ठेक्कामा भौतिक प्रगति ४६ प्रतिशत र वित्तीय प्रगति ४१ दशमलव १३ प्रतिशत रहेको थियो । सो सडकको निर्माणको जिम्मेवारी भारतीय कम्पनी डिआरएआइपीएल, नागार्जुन, कोसी एण्ड न्यौपाने जेभीलाई दिइएको थियो ।
सन् २०१५ मा तीन वर्षमा सम्पन्न गर्ने गरी ठेक्का भएको भए पनि पटक–पटक थप हुँदासमेत आधा काम पनि सकिएको थिएन । अवधि सकिँदासम्म भौतिक प्रगति ४६ प्रतिशत र वित्तीय प्रगति ४१ दशमलव १३ प्रतिशत रहेको थियो । निर्माण व्यवसायीले सुरुदेखि नै लक्ष्यअनुसारको काम गर्न नसकेर परामर्शदाता कम्पनीबाट समय समयमा लिखित तथा मौखिक रुपमा सचेत गराएको विभागका महानिर्देशक थापाले बताए ।







