काठमाडौं,१५,साउन  ।

पोखरामा अन्तर्राष्ट्रिय स्तरको वाटरपार्क सञ्चालनमा आएको छ । ५० करोड लगानीमा निर्माण भएको अत्याधुनिक फिस्टेल ड्रिमपार्क सञ्चालनमा आएको हो । फिस्टेल ड्रिमपार्कलाई पोखराकै मनोरन्जल केन्द्रका रुपमा स्थापित गराउने उद्देश्यले निर्माण गरिएको सञ्चालक भरत गौतम बताउँछन् । ‘पोखरामा यो स्तरको पार्क पहिलो पटक बनेको हो,’ उनले भने, ‘व्यक्ति वा परिवार आएर पुरै दिन बिताएर रमाइलो गर्न सक्ने इभेन्ट्स हामीसँग उपलब्ध छन् ।’ इन्डोर गेम, ड्राई पार्क, वेट पार्क, सोफा स्लाइड, लेजी रिभर, फ्रि फल, ट्रोनाडो बावल, वेभ पुल, रेल लगायतका करिब २५ थरीका गतिविधिमा रमाउन सकिने गौतमले जानकारी दिए ।

पार्कको प्रवेश शुल्क २ सय रुपैयाँ रहेको छ । जसमा बालबालिकाका लागि ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । यस्तै, वाटर पार्कको प्याकेज १ हजार दुई सय र ड्राइपार्क प्याकेज ४५० रुपैयाँमा उपलब्ध छन् । प्रवेशपछि सीमित खेल खेल्न चाहनेका लागि प्रति खेलको १५० देखि ३०० रुपैयाँसम्म लाग्नेछ । पानीमा खेलिने, गर्मीमा खेलिने खेल मात्र नभई पानी नचाहिने खेल पनि पार्कमा राखिएका छन् । जुनसुकै मौसममा पनि मानिस आएर रमाइलो गर्न सकिने गरी व्यवस्था मिलाउने क्रममा एकै ठाउँमा वाटर र ड्राइ पार्कको परिकल्पना गरिएको गौतम बताउँछन् । ‘कतिपय यस्ता पार्क ६ महिना खुल्ने र ६ महिना बन्द हुने हुन्छ, त्यस्तो नहोस् भनेर हामीले बालबालिकाका लागि छुट्टै इन्डोर गेम राखेका हौँ,’ गौतम थप्छन्, ‘यस पार्कमा जडान गरिएको प्रविधि एवं सामग्री भारत र चीनबाट ल्याइएको हो । ग्राहकको सुरक्षाका लागि हामीले विशेष ध्यान दिएरै गुणस्तरीय सामग्री जडान गरेका छौं । ६५ रोपनी जग्गामा फैलिएको पार्कमा विभिन्न खेल गरेर ५ हजार मानिसहरू एकै पटक रमाउन सक्छन् । पार्कमा करिब सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पार्क पोखराको पुरानो एयरपोर्टबाट करिब ४ किलोमिटर र पृथ्वीचोकबाट करिब ५ किलोमिटरको दुरीमा रहेको छ । पार्कमा जान निजीमात्र नभई एयरपोर्टबाट ढुंगेसाहु, सीतापाइला जाने सार्वजनिक यातायातबाट पनि पुग्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here