तुलसीपुर,१४,साउन  ।

दाङ तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविले चार शय्याको स्वास्थ्य कक्ष स्थापना गरेको छ । बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि उक्त शय्या स्थापना गरिएको हो । विद्यालयले नै रु चार लाख लगानी गरेर विद्यालयमा चार वटा शय्या सञ्चालनमा ल्याएको हो । विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार विद्यालयमा दैनिक १५/२० विद्यार्थी बिरामी हुन थालेपछि विद्यालयले आफैँले उपचारका लागि शय्या, प्राथमिक उपचारका सामग्री तथा औषधि खरिद गरेको हो । ‘अस्पतालमा दैनिक १५/२० विद्यार्थी बिरामी पर्न थाले’, उनले भने, ‘त्यसपछि हामीले आफ्नै लगानीमा चार शय्या स्थापना गरेर उपचार गर्न थालेका हौँ ।

शय्या स्थापना गरेपछि विद्यार्थीलाई उपचारमा सहज भएको उनको भनाइ छ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको सल्लाहअनुसार बिरामी विद्यार्थीलाई उपचार गर्ने गरिएको उनले बताए । विद्यार्थी सामान्य बिरामी भएपछि स्कुलमै उपचार गर्ने गरिएको छ । ‘अहिले स्वास्थ्यसँग सम्बन्धित शिक्षकले नै विद्यार्थीलाई उपचार गर्ने गरिएको छ’, उनले भने, ‘हामीले स्वास्थ्यकर्मी माग गरिरहेका छौँ, तर, पाउन सकिएको छैन । सरकारले एक विद्यालय, एक स्वास्थ्यकर्मीको नीति ल्याए पनि त्यो कार्यान्वयन हुन सकेको छैन । पटक–पटक उपमहानगरपालिका र प्रदेश सरकारलाई जानकारी गराउँदा पनि यस विषयमा कुनै चासो नदिएको सहायक प्रधानाध्यापक न्यौपानेले बताए । ‘हामीले पटक–पटक उपमहानगरपालिका र प्रदेश सरकारलाई जानकारी गराएका छौं’, उनले भने, ‘तर, अहिलेसम्म कसैले पनि चासो देखाएका छैनन् । वडाभित्रका स्वास्थ्य संस्थामा रहेका एक जना स्वास्थ्यकर्मीलाई भए पनि विद्यालयमा काजमा खटाएमा विद्यार्थीलाई उपचार गर्न निकै सहज हुने उनको भनाइ छ । अहिले सामान्य उपचार हुने गरेको भए पनि अलि बढी समस्या हुने बिरामीलाई प्रादेशिक अस्पताल वा बिरामीका आफन्तको इच्छाअनुसार विद्यालयबाट उपचारका लागि पठाउने गरिएको छ ।

यदि स्वास्थ्यकर्मी भए विद्यालयमै उपचार गर्न सकिने भन्दै यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनले बताए । अहेब वा अनमी पठाए पनि आफूहरुलाई सहज हुने शिक्षक अभिभावक सङ्घका अध्यक्ष ईश्वरीप्रसाद गैरेले बताए  । ‘स्वास्थ्य संस्थामा अहिले बिरामी पनि त्यति आउने गरेका छैनन्’, उनले भने, ‘जहाँ भए पनि बिरामीलाई सेवा दिने कुरा हो, दैनिक १५/२० विद्यार्थी बिरामी हुने विद्यालयमा एकजना स्वास्थ्यकर्मी पठाउँदा राम्रो हुने थियो । अहिले बिरामीलाई विद्यालयबाट थप उपचारका लागि महँगो शूल्क तिनुपर्ने अवस्था रहेको छ । आर्थिक अवस्था कमजोर भएका केही विद्यार्थीलाई विद्यालयले नै उपचार खर्चसमेत दिने गरेको छ । विद्यालयमा शिशुदेखि कक्षा १२ र वनबाली विज्ञान सङ्कायमा गरी दुई हजार तीन सय विद्यार्थी छन् । त्यसमा ३० न्यून दृष्टि भएका विद्यार्थी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here