
काठमाडौं,१२,साउन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारी पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भएको छ । केही समयता मत्थर हुँदै गएको कोभिड महामारी पुनः विस्तार हुँदै जाने खतरा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले त्यसलाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने खाँचो रहेको बताउनु भएको हो । वीर अस्पतालको १३३ औं वार्षिकोत्सवको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भविष्यमा आउन सक्ने विभिन्न महामारीहरुको नियन्त्रणका लागि पनि सरकारले आफ्नो सामथ्र्यको विकास गर्नुपर्ने बताउनु भयो । क्यान्सरजस्ता घातक रोगहरुको समयमै सहज ढंगले उपचार हुने व्यवस्था मिलाउन पनि सम्बन्धित स्वास्थ्य संस्थाहरुले ध्यान दिने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नु भयो, ‘केही समययता मत्थर भएको कोभिड महामारी पुनः विस्तारै फैल्दै जाने खतरा देखिएको छ । अझ यसलाई पूर्ण रुपमा नियन्त्रण गर्दै भविष्यमा आउन सक्ने अन्य विभिन्न किसिमका महामारीसँग जुध्ने सामथ्र्य हामीले विकास गर्नुपर्ने खाँचो छ । साथै क्यान्सरजस्ता घातक रोगको बिरामीहरुलाई समयमै सहज उपचार गराउने गरी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित पक्षले ध्यान दिने विश्वास लिएको छु । भविष्यमा प्रमुख स्वास्थ्य समस्या भनेको सर्नेभन्दा पनि नसर्ने रोगहरु छन भन्ने विश्व स्वास्थ्य संगठनले पूर्व अनुमान गरेको छ । हामीेले पनि नसर्ने रोगका विरामीहरुलाई सहज उपचारका लागि क्षमता विकास गर्दै जानुपर्ने आवश्यक्ता छ ।’
प्रधानमन्त्री देउवाले सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढंगले उपलब्ध गराउन सरकार कटिवद्ध रहेको पनि बताउनु भयो । स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा संविधानमै व्यवस्था गरेको स्पष्ट पार्दै उहाँले सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था समेत सरकार गरेको बताउनु भयो । प्रधानमन्त्री देउवाले भन्नु भयो, ‘स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यक्ता हो । नेपालको संविधानले स्वास्थ्यको हकलाई मौलिक हक अन्तरगत समावेश गरी प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेको छ । तसर्थ नेपाल सरकार सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढंगले उपलब्ध गराउन कटिवद्ध । स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारले प्राथमिकताका साथ बजेट छुट्टयाएको छ । यस क्षेत्रको भौतिक संरचनाको निर्माण तथा मानवीन जनशक्तिको विकासलगायतका कार्यका लागि विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले क्यान्सरजस्ता घातक रोगका लागि सहज ढंगले उपचार गराउन सरकारले बजेटको व्यवस्था गरेपनि त्यसको सदूपयोग गर्न नसकेको भन्दै वीर अस्पताल व्यवस्थापनको आलोचना गर्नु भयो । उहाँले वीर अस्पताल मुलुकको सबैभन्दा जेठो अस्पताल भएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको विकासमा ध्यान दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । वीर अस्पतालका कार्यबहाक प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रकुमार बस्नेतले विरामीहरुको चापलाई धान्न सक्ने गरी अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन सरकारसँग माग गर्नु भयो । उहाँले पूराना भौतिक संरचनाहरुको पुनर्निर्माणका लागि अस्पताललाई बजेटको समेत आवश्यक्ता रहेको बताउनु भयो । कार्यबहाक प्रमुख प्रशासकीय अधिकृत बस्नेतले अस्पतालले विरामीहरुले स्वास्थ्य उपचारका सकेको योगदान गर्दै आएको पनि बताउनु भयो ।






