काठमाडौं,११,साउन ।
सेतो मच्छिन्द्रनाथ रथ यात्रा हुने बाटोमा अग्लो कंक्रिट संरचना राखिएपछि विरोध सुरु भएको छ । रानीपोखरीस्थित प्रहरी कार्यालयको भवन र आकाशेपुलको बीच भागमा रहेको बाटोको बीचमै पोल राख्ने गरी कंक्रिट संरचना राखिएपछि स्थानीयबासीले विरोध गरेका हुन् । यो कंक्रिट संरचना कुन निकायले र किन राखेको भन्ने खुलेको छैन । झण्डा वा अग्लो बत्ती राख्ने गरी पोद राख्न लागिएको अनुमान गरिएको छ । शहरी विकास तथा भवन निर्माण विभागले यो संरचना बनाएको हुनसक्ने अनुमान छ । वडा कार्यालयले पनि यसबारे अनभिज्ञता जनाएको छ । सेतो मच्छिन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिका अध्यक्ष तथा पुजारी निलकाजी शाक्यले यसबारे ध्यानाकर्षण भएको बताएका छन् । रथ यात्रा अवरुद्ध हुने र अन्य यात्रुहरुलाइ समेत असर पर्ने गरी बनाइएको संरचना हटाउन उनले माग गरेका छन् । ‘रथात्रा हुने बाटोमै अपर्झट यस्तो संरचना बनाइएछ,’ उनले भने,’ यसले रथ यात्रा नै रोकिने अवस्था देखियो, वडा कार्यालयलाई पनि जानकारी छैन, स्थानीय सरकारलाई जानकारी नदिई बनेको यस्तो संरचना हटाउनुपर्छ । यदि संरचना नहटाए संघर्ष गर्नुपर्ने अवस्था आउने उनले चेतावनी दिए ।