काठमाडौं,१४,असार ।

पछिल्लो दुई महिनायता बजारमा सेकेन्ड ह्यान्ड (रिकन्डिसन) मोटरसाइकल र स्कुटर (बाइक) को बिक्री बढेको छ । विशेषगरी सेकेन्ड ह्यान्ड बाइक बेच्नेहरु बढेपछि किन्नेहरुले पनि धेरै विकल्पहरु पाउन थालेका छन् । वित्तीय प्रणालीमा तरलताको संकट र सरकारको आयातलाई कस्ने नीतिका कारण नयाँ मोटरसाइकल/स्कुटर (विद्युतीयबाहेक) को आयात र बिक्री खुम्चिएको छ । विदेशी मुद्राको सञ्चिति जोगाउन राष्ट्र बैंकले लिएको नीतिका कारण बैंकहरुले अटोमोबिल क्षेत्रमा पर्याप्त लगानी गर्न नपाएपछि मोटरसाइकल/स्कुटरको आयात घटेको हो । साउनयता त सरकारले १५० सीसीभन्दा माथिको बाइक आयात नै गर्न रोकिदिएको छ । यसले यस्ता कारणले बजारमा रिकन्डिसन बाइकहरुको माग बढेको छ । चन्द्राचगिरि रिकन्डिसनका सञ्चालक सागर गिरी पछिल्लो दुई महिनामा रिकन्डिसन बाइकको व्यापारमा वृद्धि देखिएको बताउँछन् । ‘दुई महिनाजस्तो भयो, बिक्री राम्रो छ,’ उनले भने,‘ बाइक बेच्नेहरु पनि छन्, किन्नेहरुको पनि खासै कमी छैन । ललितपुरको एकान्तकुनास्थित ग्रेस अटोका सञ्चालक आकाश विष्टको अनुभवमा अहिले बाइक किन्नेभन्दा बेच्नेहरु बढेका छन् । ‘रिकन्डिसन बाइक किन्नेभन्दा बेच्ने बढी छन्,’ उनी भन्छन्,‘ रिकन्डिसनमा पनि नयाँ नयाँ बाइक आएकाले किन्नेको संख्या पनि राम्रो छ । धोबीघाटको बंगलामुखी रिकन्डिसनका सुधन रायमाझी रिकन्डिउसन बाकइमा अहिलेसम्मकै बढी उत्साह देखिएको बताउँछन् । महामारीपछि केही समय रिकन्डिसन बाइक किन्नेको संख्या बढेको स्मरण गर्दै उनले अहिले त्योभन्दा पनि राम्रो अवस्था आएको बताए । ‘जोर–बिजोरको कारण रिकन्डिसन बाइकको माग बढेको थियो, त्यतिबेला बेच्नेहरु धेरैै थिएनन्,’ उनी भन्छन्,‘अहिले किन्ने र बेच्ने दुबैको कमी छैन ।’

आरएन ब्रदर्श अटोका सञ्चालक रवीन भण्डारी भने रिकन्डिसन बाइकको व्यापार मन्द अवस्थामा रहेको बताउँछन् । तेलको मूल्य बढेपछि ‘फ्युल इन्जेक्सन (एफआई) प्रविधि’ भएका बढी माइलेज दिने बाइकको माग बढेको उनको भनाइ छ । तर, व्यापार महामारी अघिको जस्तो अवस्थामा भने अझै नआएको उनको अनुभव छ । ‘केही कम्पनीले २५ प्रतिशत डाउनपेमेन्टमा शून्य प्रतिशत ब्याजदरमा बाइक बेचिरहेका छन्, यसले गर्दा रिकन्डिसन बाइकको बिक्री पनि अपेक्षित दरमा बढ्न नसकेको भण्डारी बताउँछन् । व्यापारीहरुका अनुसार पेट्रोलको मूल्य लिटरमा १९९ रुपैयाँसम्म पुगेपछि चढिरहेको बाइक बेच्नेहरुको संख्या बढेको छ । विशेषगरी माइलेज नदिने बाइकहरु रिकन्डिसनमा बढी आउने गरेका छन् । पछिल्लो दिनमा विदेश जानेहरुको संख्या बढेकोले पनि बाइक बेच्नेहरु बढेको उनीहहरुको तर्क छ । महामारीले लामो समय वैदेशिक रोजगारी र अध्ययनमा जानेहरुलाई नेपालमै बस्नुपर्ने बाध्यता सिर्जना गरेको थियो । बेच्नेहरु बढ्दा छानी–छानी रिकन्डिसन बाइक किन्न पाइने अवस्था रहेको व्यापारीहरुको दाबी छ ।

पछिल्लो समयमा बढेको महँगीका कारण पनि धेरैले बाइक नचढ्ने निर्णय लिएको हुनसक्ने अनुमान छ । त्यसैगरी नयाँ बाइक किन्न बजेट नहुनेहरुले सेकेन्ड ह्यान्डको मूल्यमा नयाँ–नयाँ लटककै बाइक पाइरहेको व्यापारी गिरी बताउँछन् । अहिले नयाँ बाइकहरुको बिक्रीको दर पनि उत्साहजनक भने छैन । चालु आर्थिक वर्षमा पेट्रोलियमबाट चल्ने मोटरसाइकल/स्कुटरको आयात २०.३४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिना (साउनदेखि जेठसम्म) २५ अर्ब ५९ करोड ८१ लाख मूल्यको मोटरसाइकल आयात भएको छ । सरकारले सवारीको आयातलाई निरुत्साहन गर्ने गरी नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि आयात कम भएको अटोमोबिल व्यवसायीहरु बताउँछन् । यो अवधिमा कुल २ लाख ५७ हजार ६३६ हजार वटा मोटरसाइकल आयात भएको छ । यस्तो आयातबाट सरकारले २५ अर्ब ३२ करोड ८४ लाख भन्सार राजस्व संकलन भएको छ । गत वर्ष यसै अवधिमा ३ लाख २३ हजार ४६० मोटरसाइल आयात भएका थिए । गत वर्ष ११ महिनामा ३० अर्ब ३ करोड ३४ लाख मूल्यका मोटरसाइकल आयात हुँदा सरकारले ३० अर्ब ५० करोड १ लाख भन्सार राजस्व संकलन गरेको थियो ।

चालु आर्थिक वर्षमा १२५ सीसीसम्मका १ लाख ६३ हजार ९२४ मोटरसाइकल आयात भएको छ । त्यसैगरी १२५ देखि २०० सीसीसम्मका ६७ हजार ७०८ वटा मोटरसाइकल आयात भएको तथ्यांकमा देखिन्छ । २०० देखि २५० सीसीम्मका १९ हजार २९२ वटा मोटरसाइकल आयात भएको विभागको तथ्यांकमा देखिन्छ । २५० देखि ४०० सीसीसम्मका ६ हजार ७०७ वटा मोटरसाइकल नेपाल भित्रिएका छन् । ४०० देखि ८०० सीसीसम्मका ४ र ८०० सीसीभन्दा बढीको एउटा बाइक नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । यो वर्ष अधिकांश वर्गमा मोटरसाइकलको आयात दर घटेको छ । नेपालमा टीभीएस बाइक बिक्री गरिरहेको जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवाल मुख्य रुपमा बजारमा तरलताको अभावले बिक्री प्रभावित भएको बताउँछन् । ‘बजारको मनोविज्ञान पनि अहिले सकेसम्म नकिनौं भन्ने खालको बनेको छ,’ उनी भन्छन्, ‘फाइनान्सिङ सजिलो छैन, ब्याजदर पनि बढेको छ, अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यको असर हाम्रो बजारसम्म नै छ ।’ उनका अनुसार ५० प्रतिशत नगद मार्जिन राखेर आयात गर्नुपर्दा लागत बढ्न पुगेको छ । जसको अप्रत्यक्ष मार उपभोक्तामाथि नै परिरहेको छ । बजारको अवस्थाका कारण कम्पनीहरुले पनि आक्रामक ढंगले मार्केटिङ गर्न सकेका छैनन् । एक मोटरसाइकल बिक्रेता कम्पनीका प्रमुख कार्यकारी अधिकृतका अनुसार दुई पांग्रे सवारी किन्न पर्याप्त र सहज फाइनान्स सुविधा उपलब्ध छैन । ‘बजार संकटोन्मुख छ, आयातका लागि पनि सहज र सस्तो बैंकिङ भएको छैन,’ उनले भने, ‘मौज्दातमा रहेका बाइकहरु नै बिक्न नसकेपछि धेरै आयात गर्नु नपरेको पनि हो ।’ बजारमा महँगी चर्किएकाले उपभोक्तमा पनि सवारी फेर्ने मनोबल घटेको बिक्रेताहरुको अनुभव छ । धेरैले अहिले रिकन्डिसनिङ बाइकहरु किन्न थालेको भन्दै ती सीईओले आगामी एक वर्ष अझै अवस्था सरल नबन्ने बताए । ‘देशको अर्थतन्त्रको जुन बाह्य अवस्था छ, त्यो हेर्दा अझै केही महिना यस्तो संकट अझै गहिरिने देखिन्छ,’ उनले भने, ‘मौद्रिक नीतिले अटो कर्जा अझै कस्यो भने अवस्था झन बिग्रने जोखिम छ ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here