काठमाडौं,३,साउन ।
आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत स्कटल्यान्डमा भएको शृंखलामा खराब प्रदर्शनपछि स्वदेश फर्किएका राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले नेपालले एकदिवशीय मान्यता कायम राख्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले नेपालले स्कटल्यान्डमा राम्रो प्रदर्शन गर्न नसके पनि नेपाल अझै लिग टुमा शीर्ष तीनको लक्ष्यमा रहेको बताएका छन् । नेपाल शीर्ष तीनमा पर्न नसके पनि शीर्ष ५ भित्र पर्दै एकदिवशीय मान्यता बचाउने उनले विश्वास व्यक्त गरेका छन् ।‘नेपालले एकदिवशीय मान्यता गुमाउँदैन । यो कुरा म अहिल्यै भन्न सक्छु । नेपालले अझै १६ खेल खेल्न बाँकी छ । हामी शीर्ष ३ मा पर्ने सम्भावना अझै कायमै छ, त्यो नभएको खण्डमा पनि हामी शीर्ष पाँच भित्र पर्नेछौं’, उनले भने । नेपाली टोलीमा युवा खेलाडीको वर्चस्व रहेको तथा अनुभवको कमी रहेका कारण नेपालले राम्रो प्रदर्शन गर्न नसकेको उनले बताए । ‘हामीले खेलमा राम्रो गर्न नसक्नुको मुख्य कारण यो टोलीमा युवा ब्याटर धेरै थिए । जसका कारण उनीहरुसँग अनुभवको कमी थियो । कुन समयमा कसरी खेल्ने भन्ने कुरा उनीहरुमा परिपक्वता आउँदै गरेपछि यो समस्या नआउला ।’
उनले टिममा एकता नभएको कारण सिरिजमा राम्रो खेल्न नसकेको आरोपको पनि खण्डन गरेका छन् । हाल टिममा पूर्णत एकता भएको उनले बताएका हुन् । ‘अहिले टिममा पूर्ण रुपमा एकता छ । यसमा प्रश्न गर्ने ठाउँ छैन ।’त्यस्तै, प्रशिक्षक दासानायकेले क्रिकेट समर्थकले गरेको आफ्नो आलोचना गरेकोमा पनि दुख व्यक्त गरेका छन् । आफू आएको छोटो समय भएको र यो ६ महिनामा आफूले टिमलाई सम्पूर्ण कुराहरुले सहयोग गरेको बताएका छन् । ‘मेरो बारेमा अहिले केही पनि बोल्नु उचित हुन्छ जस्तो मलाई लाग्दैन । मैले नेपाल क्रिकेटलाई आफ्नो सबैथोक दिएको छु । मैले टिममा एक किसिमको प्रणाली बनाएको छु’, उनले दाबी गरे ।आफू आउँदा टिममा एकताको समस्या भएको तर अहिले टिम ‘वान टिम वान गोल’ को रुपमा अघि बढेको उनले बताए । समर्थकहरु सबैजना दुःखी भएको कारण यस्तो भएको भन्दै प्रशिक्षक दासानायकेले अन्य खेलमा राम्रो गर्ने बताएका छन् ।राम्रो रिजल्टको खोजीमा गए पनि राम्रो नतिजा ल्याउन नसक्दा टिमका कप्तान सन्दीप लामिछाने पनि सन्तुष्ट देखिएनन् । उनले टिममा धेरै युवा खेलाडी भएको कारण परिपक्वताको कमी भएको कारण यो समस्या आएको उनले औल्याए ।‘हामीले रणनीति बनाउँदा राम्रै बनाउँछौं तर मैदानमा गएर खेल्न नसकेको कारण हामीले यो शृंखलामा राम्रो गर्नै सकेनौं उनले भने । टिममा राम्रो प्रतिभा भएर पनि अनुभवको कमीका कारण परिस्थिती अनुसार खेल्न नसकेको उनले बताए ।
उनले पनि प्रशिक्षकको रणनीति राम्रो भएको तर मैदानमा गएर खेलाडीले खेल्न नसकेको कुरा स्वीकारेका छन् । ‘प्रशिक्षकको रणनीति राम्रो हुन्छ तर हामीले मैदानमा गएर खेल्न सक्दैनौं । त्यहि नै मुख्य समस्या हो । टिममा धेरै युवा खेलाडी भएको र मानसिक रुपमा अनुभवको कमी भएका कारण यस्तो भएको उनले बताएका छन् । उनले समर्थकको हरेक प्रकारको प्रतिक्रिया स्वीकार गर्नुपर्ने बताएका छन्, ‘हाम्रो राम्रो समयमा ताली आउँछ भने हामीले गाली पनि स्वीकार गर्नुपर्छ ।’