काठमाडौं,३,साउन ।

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले विदेशी शक्तिको इशारामा नेपाल चलिरहेको आरोप लगाएका छन् । सोमबार जनकपुरधामस्थित मधेश प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले वर्तमान सरकार विदेशी शक्तिको इशारामा चल्ने गरेको प्रसंग उल्लेख गरेका छन् । प्रधाममन्त्री शेर वहादुर देउवा अमेरिका र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड भारतको इशारामा चलेको उनको आरोप छ । बाह्य शक्तिले देशलाई संकटमा लग्ने उनको भनाइ छ । ‘वर्तमान सरकार बाह्य शक्तिको इशारामा चलिरहेको छ । उनीहरुले देशको सार्वभौमसत्तामाथि आँच आउने गरी विदेशी शक्तिसँग साँठगाँठ गरेका छन्,’उनले भने,‘प्रचण्डको र देउवाले देशलाई संकट तिर लगिरहेका छन् ।’ उनले प्रधानमन्त्री देउवा र नेकपा अध्यक्ष प्रचण्डको विषयमा विभिन्न टिकाटिप्पणी गरे पनि नेकपा समाजवादीका अध्यक्ष माधव नेपालको विषयमा बोलेनन् । उनले माधव नेपाल पार्टीमा नफर्किए पनि नेकपा (एस)को ठूलो समूह चुनाव अघि एमाले प्रवेश गर्ने दाबी गरे । ‘ हाम्रो प्रयास पुनः वाम एकताको छ,’उनले भने,‘वाम एकताले मात्रै देशको अवस्था सुधार गर्न सक्छ । वास्तविक समाजवाद ल्याउन सक्छ । त्यसकारण समाजवाद ल्याउन कम्यूनिष्ट एकता आवश्यक छ ।’ नेपाली काँग्रेससँग कम्यूनिष्टको गठबन्धन सत्ता स्वार्थको लागि मात्रै भएको उनले बताए । वर्तमान गठबन्धनको सरकारले जनताको जीवन र नीतिमा कुनै सुधार ल्याउन नसकेको उनले उल्लेख गरे । देशमा एमाले र काँग्रेस बाहेकका शक्ति देशबाट विस्तारै हराउने उनले जिकिर गरे । ‘केही क्षेत्रीय पार्टीले आफूलाई देशकै वैकल्पिक भनेर हल्ला फिजाएका थिए,’उनले मधेशवादी दललाई लक्षित गर्दै भने,‘अहिले उनीहरुको हालत हेर्नुस् । आफैमा लडेर÷फुटेर फुर्सद छैन् ।’ वाम एकता देशमा आवश्यक रहेको भन्दै उनले जोड दिन स्थानीय नेता कार्यकर्तालाई पनि अनुरोध गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here