काठमाडौं,२,साउन ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ गठबन्धनले मुलुकमा वैदेशिक चलखेल निम्त्याएको आरोप लगाउनु भएको छ । महासचिव पोखरेलले मुलुकमा नीतिगत विचलन, विभिन्न स्वार्थहरुको सौदावाजी, राजनीतिक अस्थिरता र वैदेशिक चलखेल सत्तारुढ गठबन्धनले निम्त्याएको आरोप लगाउनु भएको हो । आईतबार पोखरामा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा बोल्दै उहाँले मुलुकको स्वाधिनता, स्वाभिमान, विकास, समृद्धि र परिवर्तनको जनआकांक्षालाई सम्बोधन गर्ने काम सत्तारुढ गठबन्धन सरकारद्धारा सम्भव नभएको जिकीर समेत गर्नु भयो । महासचिव पोखरेलले मुलुकमा राजनीतिक धु्रबीकरणको आवश्यक्ता रहेको दोहो¥याउँदै आगामी संघ र प्रदेशसभाको निर्वाचनमा आफूले त्यो अपेक्षा गरेको पनि बताउनु भयो ।
आज गठबन्धनले नीतिगत विचलन, स्वार्थहरुको सौदावाजी, राजनीतिक अस्थिरता र वैदेशिक चलखेललाई निम्त्याएको छ । यो मुलुकको स्वाधिनता, स्वाभिमान, विकास, समृद्धि र परिवर्तनकारी आकांक्षाका लागि बाधक छ भन्ने कुरालाई हामीले बुझ्न जरुरी छ । त्यसअर्थमा म के भन्न चाहन्छु भने अव समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउने हो भने राजनीतिक धुब्रीकारण अनिवार्य छ । अव मुलुकमा धेरै राजनीतिक दलहरुको आवश्यक्ता छैन । मुलुकलाई कुन बाटोमा लैजाने भन्ने सन्दर्भमा दुई वटा प्रश्न हामीसँग छन । यो मुलुकलाई सामाजिक न्यायसहितको लोककल्याणकारी राज्यको माध्यामबाट समाजतर्फ लैजाने, एउटा बाटो । यो समाजलाई उद्धार पूँजीवादको बाटोबाट बुर्जुवाकरण गर्ने अर्को बाटो । कतातर्फ जाने भन्ने बाटोको छनौंट नेपाली जनताले गर्नुपर्नेछ । र, नेपालका राजनीतिक दलहरु पनि यी दुई प्रवृत्तिकै वरिपरी धुब्रीकृत हुन जरुरी छ । यसअर्थमा अव धेरै राजनीतिक दलहरु होइन, राजनीतिक धुब्रीकरणमा जान जरुरी छ । आउने निर्वाचन त्यो दिशातर्फ अघि बढने भन्ने कुराको विश्वास र अपेक्षा राख्न चाहन्छु । महासचिव पोखरेलले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले कालोधनलाई सेतो बनाउन गरेको अपराधिक गतिविधिलाई रोक्न खोज्दा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने प्रयास भईरहेको दावी समेत गर्नु भयो ।