काठमाडौं,३२,असार ।
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीलाई कमभन्दाकम क्षति हुने गरी सत्तारुढ दलहरुबीच प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा गठबन्धन गर्नुपर्ने बताउनु भएको छ । शनिबार भरतपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता कोइरालाले यस्तो भनाई राख्नु भएको हो । त्यस सम्बन्धमा केन्द्रिय समितिमा व्यापक छलफल भईरहेको र त्यसले आवश्यक निर्णय लिने उहाँको भनाई थियो । नेता कोइरालाले भन्नु भयो, ‘गठबन्धनबारे केन्द्रिय समिति बैठकमा व्यापक छलफल भइरहेको छ । तर, गठबन्धन गर्दाखेरी पनि नेपाली काँग्रेसलाई कमभन्दा कम क्षति हुने गरी हामी गठबन्धनमा जानुपर्छ । सभापतिजी विधि र विधानसम्मत जानु भएन । ३ महिनामा चयन हुनुपर्ने कोषाध्यक्ष अझै चयन गर्न सक्नु भएको छैन । नेता कोइरालाले पार्टीको विधान अनुसार अझै केन्द्रिय कोषाध्यक्ष समेत चयन गर्न नसकेको भन्दै पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रोश समेत व्यक्त गर्नु भयो । उहाँले पार्टीलाई विधि र विधानमा हिँडाउन नेतृत्वलाई सचेत गराउने काम आफूहरुले गरिरहने बताउनु भयो ।