काठमाडौं,३२,असार ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई खेद्ने काम नगर्न नेता शेखर कोइरालालाई आग्रह गरेका छन् । शनिबार पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले नेता शेखर कोइरालालाई साथै लिएर जान चाहेको बताए । उनले विगतमा आफूलाई पनि पार्टीभित्र अप्रिय व्यवहार भएको भन्दै त्यसलाई दोहोर्याउन आफूले नचाहेको बताएका एक केन्द्रीय सदस्यले जानकारी दिए । शेखर कोइराला पक्षले नेविसंघ र तरुण दललगायत भ्रातृ संगठनको नेतृत्व चयन गर्दा एकलौटी गरेको विधान अनुसार काम नगरेको भन्दै आलोचना गर्दै आएका छन् । जवाफमा देउवले आफूले सल्लाह गरेरै नेविसंघ र तरुण दलको नेतृत्व चयन गरेको जिकिर गरे । बैठक बस्न परे केन्द्रीय कार्यालयमा गर्नुस् । मलाई खेद्ने काम नगर्नुस् । पार्टी बलियो बनाएर लैजान्छु, मलाई पनि कुनै समय पार्टीबाट अप्रिय व्यवहार भएको थियो । त्यस्तो अप्रिय अहिले म बाट कसैलाई हुन्न’ देउवाको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने । प्रधानमन्त्रीसमेत रहेका देउवाले आगामी चुनावमा पनि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग गठबन्धन हुने बताए । उनको भनाइ उधृत गर्दै एक नेताले भने ‘प्रचण्डलाई गिरिजाले शान्ति प्रक्रियामा ल्याउनुभएको हो । माधव पनि पार्टी छोडेर आएका छन् । प्रचण्ड माधव दुवैको पार्टीसँग सहकार्य गरेर जाऔं । सँगै लिएर जाऔं ।’