काठमाडौं,३२,असार  ।

सत्तारुढ नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित हुनु भएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको दोस्रो बैठकमा भएको मतदानमा १४८ मत प्राप्त गरी उहाँ प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित हुनु भएको हो । प्रतिनिधिसभामा तत्काल कायम रहेका २४२ सदस्य संख्या मध्ये १४८ मत भुसालको पक्षमा र ९३ मत मात्रै अर्का प्रतिस्पर्धी विद्या भट्टराईले प्राप्त गर्नु भएको थियो । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले सो मत मध्ये गौतमले प्राप्त गर्नु भएको मत बहुमत भएकाले उहाँ उपसभामुख पदमा निर्वाचित भएको घोषणा गर्नु भयो । उहाँलाई सत्तारुढ गठबन्धनको समर्थन थियो । सभामुख सापकोटाले भन्नु भयो, ‘आजको मतदानमा उपस्थिति माननीय सदस्यहरुको संख्या २४२ रहेको छ । यस सभाका माननीय सदस्य पुष्पा भुसाल गौतमलाई उपसभामुख पदमा निर्वाचित गरियोस भन्ने प्रस्तावको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा जम्मा १४८ मत । प्रस्तावको विपक्षमा वा हुन्न भन्ने पक्षमा जम्मा ९३ मत र प्रस्तावमा मत दिन्न भन्ने पक्षमा १ मत रहेको छ । यस सभाका माननीय सदस्य पुष्पा भुसाल गौतमलाई उपसभामुख पदमा निर्वाचित गरियोस भन्ने प्रस्तावको पक्षमा १४८ मत परेको र उक्त संख्या प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत भएकाले यस सभाका माननीय सदस्य श्री पुष्पा भुसाल गौतमलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने मतदानमा भाग लिनु भएन । प्रतिनिधिसभाको अर्को बैठक साउन ४ गते बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here