काठमाडौं,३२,असार ।
भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका छन् । शुक्रबार भारत भ्रमणमा गएका उनले शनिबार नै भारतीय सुरक्षा सल्लाहकार अजित डोभललगायतसँग भेटवार्ता गर्दैछन् । भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डाको निमन्त्रणामा भारत भ्रमणमा गएका उनले शनिबार विहान भारतमै प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासँग भेट गरेका थिए ।
प्रचण्डले शनिबार भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग पनि भेटवार्ता गर्ने र आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर प्रचण्ड स्वदेश फर्किने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ । शनिबार नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको कार्यालयमा न्यूज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै प्रचण्डले आफ्नो भ्रमण तीन महिना पहिले नै तय भइसकेकाले आकस्मिक नभएको बताए । आफ्नो भारत भ्रमण सद्भावना भ्रमण रहेको उल्लेख गर्दै नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउनमा आफ्नो प्रयास हुने प्रचण्डले बताए । ‘कुनै एउटा विषयमा केन्द्रित गरेर गरिएको भ्रमण होइन । समग्रमा नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउने हो । यो भ्रमण आकस्मिक होइन, दुई तीन महिना अघिदेखि यसमा छलफल भइरहेको थियो’ उनले भने ।