काठमाडौं,३२,असार ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहमहामन्त्री किशोर सिंह राठौर र केन्द्रीय सदस्य गोपाल दहितबीच आरोप प्रत्यारोप भएको छ । बर्दियाका यी दुई नेताबीच आफ्नै जिल्लाको निर्वाचनलाई लिएर वाद विवाद भएको हो । अघिल्लो दिनको बैठकमा केन्द्रीय सदस्य गोपाल दहितले स्थानीय चुनावमा राठौरले आफ्नै वडामा कांग्रेसलाई जिताउन नसकेको आरोप लगाएका थिए । शनिबार सहमहामन्त्री राठौरले दहितको उक्त आरोपको प्रतिवाद गरेका हुन् । बैठकमा राठौरले भने, ‘१० पार्टी चाहार्दै आउनेले मलाई आरोप लगाउने ? मेरो वडाको चुनावी समीकरण तपाईंलाई थाहा छैन । पार्टी फेर्दै हिड्नेले मेरो बारेमा प्रश्न उठाउने । राठौर दहितविरुद्ध खनिएपछि सभापति शेरबहादुर देउवाले उनलाई रोकेका थिए । पदाधिकारी भएको व्यक्ति केन्द्रीय सदस्यविरुद्ध नलाग्न भन्दै देउवाले उनलाई सम्झाएका एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।