जनकपुरधाम,३१,असार ।
साइकलले ठक्कर दिएको विषयमा भएको विवाद बढ्दै गएपछि भएको कुटपिटबाट सप्तरीमा एक महिलाको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका ८ बस्ने ५५ वर्षीया जिरादेवी मण्डलको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । कुटपिटबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याउनेवित्तिकै चिकित्सकले मृत घोषणा गरेको काफ्लेले बताए ।मृतक जिराका छोरा मनोज साइकलमा मल लिएर घरतर्फ आउँदै गर्दा एक जना बालकलाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि बालकका आफन्त राजेश शर्मा र गनेश शर्मासहितकाले मनोजलाई कुट्न थालेपछि जिरादेवी आफ्नो छोरालाई बचाउन गएकी थिइन् । त्यहिं क्रममा उनको कुटपिटबाट मृत्यु भएको हो । कुटपिटमा संलग्न भएकाहरु फरार भएको र उनीहरुको खोजीसहित घट्नाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








