काठमाडौं,३१,असार ।
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा भइरहेको त्रिकोणात्मक शृंखलामा नेपालले बुधबार घरेलु टोली स्कटल्याण्डलाई ५ विकेटले हराएर ऐतिहासिक उपलब्धि हासिल गर्यो । एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा स्कटल्याण्ड विरुद्ध पहिलो भेटमै शानदार जित निकालेर नेपालले मनोबल उँचो बनाएको छ । यसअघि स्कटल्याण्डसँग चार लिस्ट ए खेल खेल्दा नेपाल सबैमा पारजित भएको थियो । त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा सोमबार नेपाल नामिबियासँग पराजित भएको थियो । नामिबियासँग नेपालले यसअघि खेलेका चारवटै लिस्ट ए खेल जितेको थियो । तर अफ्रिकन राष्ट्र विरुद्धको पहिलो ओडीआई खेलमा नेपाल पराजित भयो । प्रदर्शनमा देखिने लगातारको उचारचढाव नेपाली क्रिकेट टिमको विशेषता हो । विश्वकप लिग टुमा पछिल्लो ३ वर्षयता नेपाली टिमले यही पुष्टि गरेको छ । नेपाली टिमले कुनै खेल हार्दा हार्दै जितको छ त कुनै खेल जित नजिक रहेर पनि गुमाएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राखेदेखि नै नेपालले ब्याटिङमा एकरुपको प्रदर्शन गर्न सकिराखेको छैन् । ब्याटिङको तुलनामा बलिङ प्रदर्शन सन्तोषजनक छ । स्कटल्याण्ड विरुद्ध पनि बलिङकै बलमा नेपालले जितका लागि धेरै संघर्ष गर्नुपरेन । १४५ रनको लक्ष्य नेपालले आधा इनिङमै भेट्टायो ।नामिबिया विरुद्ध पनि नेपालको बलिङलाई प्रश्न गर्ने ठाउँ थिएन । २२१ रनको लक्ष्य पछ्याएको नेपाल १८० रनमै अलआउट भयो ।ओडीआईमा पछिल्ला खेलहरुको नतिजा हेर्ने हो भने नेपालले जितेको खेलमा बलिङ नै हावी छ । कम लक्ष्य पाउँदा पनि ब्याटिङ नचल्दा जित्न सक्ने धेरै खेल हातबाट फुस्किएको छ ।नेपालले यसअघि गत महिना अमेरिकामा भएको लिग टु मा ओमानलाई ७ विकेटले हराउँदा त्यसको आधार उत्कृष्ट बलिङ नै थियो । त्यस खेलमा करण केसीले ५ र सन्दीप लामिछानेले ३ विकेट लिएपछि ओमान १६३ रनमा अलआउट भएको थियो । कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गर्दा नेपालले लक्ष्य सहजै पूरा गरेको थियो । बलरहरुले राम्रो प्रदर्शन गर्दै ब्याटरलाई सजिलो बनाउँदै आएका छन् ।
त्यसअघि नेपालले युएईमा भएको लिग टु कै खेलमा पपुवा न्यु गिनीलाई ७ विकेटले नै पराजित गर्दा बलरले नै जितको आधार तयार गरेका थिए । बलरहरुले उत्कृष्ट बलिङ गर्दै पपुवा न्यु गिनीलाई १७३ रनमा समेटेको थियो । त्यसपछि कुशल भुर्तेल र आरिफ शेखको अर्धशतकमा नेपालले ७ विकेटको जित निकालेको थियो ।स्कटल्याण्ड विरुद्ध पछिल्लो जितमा बलरहरुले सुरुदेखि नै विकेट झार्दै विपक्षीलाई दबाबमा राखे ।यसपल्ट नेपालको तीव्र गतिको बलिङको प्रभाव देखियो । ३ जना तीव्र गतिका बलरले ७ स्कटिस ब्याटरलाई पभेलियन फर्काए । अनुभवी सोमपाल कामी र युवा आदिल आलमले उत्कृष्ट बलिङ गर्दै ३-३ विकेट लिए भने करण केसीले १ विकेट लिए । उच्च लयमा रहेका लेग स्पिनर कप्तान सन्दीप लामिछानेले २ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए । सन्दीपले नामिबियाविरुद्ध ४ विकेट लिएका थिए ।१४५ रनको लक्ष्य आधा इनिङ्स खेलेर पूरा गर्दा पनि नेपालले ५ विकेट गुमायो । ओपनर आसिफ शेखले सर्वाधिक ७१ रन बनाए पनि अन्य ब्याटरले संघर्ष गरे । अर्का ओपनर कुशल भुर्तेलले २७ रन बनाएर आउट भए । देव खनाल ४, दीपेन्द्र सिंह ऐरी ३ र आरिफ शेख १ रनमै आउट भए । रोहित पौडेलले अविजित ३४ रन बनाएका थिए ।शृंखलाको पहिलो खेलमा नेपाल नामिबिया विरुद्ध ४० रनले पराजित भएको थियो । नेपालले नामिबियालाई १५ बल अगावै २२० रनमा अलआउट गरेको थियो ।तर आरिफ शेखले अविजित ५० रन बनाउनु बाहेक अन्य ब्याटरले सम्हालिएर खेल्न नसक्दा नेपाल ४६.५ ओभरमा १८० रनमै अलआउट भएको थियो । आरिफ बाहेक देव खनालले ३४ र कुशल भुर्तेलले २७ रन बनाए ।
कुशल र देवले राम्रो सुरुवात दिलाए पनि आफूलाई ठूलो स्कोरमा प्रमाणित गर्न सकेका छैनन् । मध्यक्रममा अनुभवी दीपेन्द्रसिंह ऐरीको खराब लय नेपालको सबैभन्दा ठूलो चिन्ता हो । त्यसको परिपूर्तिका लागि नेपालले उपकप्तान रोहित पौडेलबाट लामो इनिङको अपेक्षा गर्ने छ ।नेपालले अब शनिवार नामिबियासँग अर्को खेल खेल्दैछ । हरेक खेलमा नेपालको चिन्ता ब्याटिङमै हुनेछ र नामिबिया विरुद्ध पनि नेपाली ब्याटरको अर्को परीक्षा हुनेछ ।