काठमाडौं,२८,असार  ।

आठौं ओभर बलिङ गर्न नामिबियाका जान फ्रांकलिन आएका थिए । उनले पहिलो बलमै आसिफ शेखलाई ला कुकबाट क्याचआउट गराए । आसिफले अफस्टम्प बाहिरको बल हान्ने प्रयास गरेका थिए । त्यो हान्ने बल भए पनि बल शरीर भन्दा धेरै टाढा थियो । जसले गर्दा आसिफको ब्याट राम्रोसँग कनेक्ट भएन र आउट भए । १३ औं ओभरको अन्तिम बलमा अर्का ओपनर कुशल भुर्तेल ठूलो सट हान्ने चक्कारमा आउट भए । उनलाई विकेटकिपर जान ग्रीनले क्वीक स्टम्पिङ गरे । आउट हुनुअघि त्यो ओभरमा कुशलले एक चौका हानिसकेका थिए ।

१५ औं ओभरको पाँचौ बलमा रोहित पौडेलले रनआउट भए । नन स्ट्राइकर इण्डमा रहेका देव खनाल रन लिन दौडिएका थिएनन् । तर रोहित आफैँ दौडिएर । अनी फर्कँदा एरासमसले डिरेक्ट हिटमार्फत रनआउट गरे । १८ औं ओभरको अन्तिम बलमा दीपेन्द्र सिंह ऐरी अनलाइनमा बल माथि उठाउन खोज्दा ‘पप’ बलमा एरासमसबाट क्याचआउट भए । यस ओभरमा पनि एक चौका आइसकेको थियो । दीपेन्द्र रन लिएर स्ट्राइक चेञ्ज गर्ने धुनमा आउट भए ।आसिफ, कुशल, रोहित र दीपेन्द्र यी चार जना नेपाली राष्ट्रिय क्रिकेट टिमका अहिलेका उत्कृष्ट ब्याटर हुन् ।आसिफ र कुशल ओपनर हुन्। रोहित र दीपेन्द्रले क्रमश: चौथो र पाँचौ स्थानमा ब्याटिङ गर्दै आएका छन् ।तर क्रिकेट विश्वकप लिग टु अन्तर्गत सोमबार नामिबिया विरुद्धको खेलमा भने यी चारै खेलाडीले रन बनाउन संघर्ष गरे ।यी खेलाडीको ब्याटबाट रन निस्कन नसक्दा नेपालको टप र मिडल अर्डर नै फ्लप भयो अनी नेपालले खेल ४० रनले गुमायो ।नामिबियाविरुद्ध कुशलले २७, आसिफले १४ र दीपेन्द्रले ४ रन बनाउँदा रोहितले खाता खोल्न सकेनन् ।पछिल्लो चार एकदिवसीय खेलमा कुशलले एक मात्र अर्धशतक बनाएका छन् । यस्तै आसिफले उति नै खेलमा दुई अर्धशक हानेका छन् ।रोहितले पछिल्लो पाँच खेलमा एक अर्धशतक प्रहार गर्दा दीपेन्द्रले पछिल्लो पाँच खेलमा २० रनको व्यक्तिगत स्कोर समेत बनाउन सकेका छैनन् ।नामिबिया विरुद्ध यी चार ब्याटर आउट हुनुमा विपक्षीले राम्रो बलिङ गरेको भन्दा पनि आफ्नै गल्ती बढि देखियो ।आसिफ र दीपेन्द्र सामान्य बलमा सट हान्ने चक्करमा आउट भए । कुशल ठूलो सट खेल्ने चक्करमा आउट भए । उपकप्तान समेत रहेका रोहित भने रन लिन दौडने चक्करमा आउट भए । हुन त कुशलको स्टम्पिङ पनि थर्ड अम्पायरले हेरेको भएर अर्कै नतिजा आउन सक्थ्यो । यस्तै रोहितको रनआउटमा पनि त्यही रेफ्रीको कमजोरी रह्यो भन्ने चर्चा भइरहेको छ । तर उनी आउट हुँदा आफ्नै गल्ती थियो ।पछिल्लो समय नेपालको ब्याटिङ खराबै नभए पनि लिग टूका पछिल्ला दुई शृंखलामा नेपालको ब्याटिङ राम्रो हुन सकेको छैन । गत मार्चमा युएईमा भएको लिग टु नेपालले पपुवा न्यु गिनीलाई दुई खेलमा पराजित गरे पनि ब्याटिङमा संघर्ष गरेको थियो । युएईसँग भने नेपालले १६९ र २०३ रनको लक्ष्य पछ्याउँदा पनि पराजित भएको थियो ।

यस्तै जुनमा अमेरिकामा भएको लिग टु मा ओमान र अमेरिकासँग हार्दा पनि नेपालको ब्याटिङ नै कारण बनेको थियो । ओमान र अमेरिका दुवै विरुद्ध नेपाल अलआउट हुँदै पराजित भएको थियो ।नामिबिया विरुद्धको हारमा पनि मुख्य कारण नेपालको ब्याटिङ नै रह्यो । ओपनर टिक्न नसक्नु,  त्यसपछि मिडल अर्डरले इनिङ्स होल्ड गर्न नसक्नु रह्यो । आसिफ र कुशल आउट भएपछि तेस्रो र चौथो नम्बरको खेलाडीले होल्ड गर्नुपर्ने थियो । तर रोहित र दीपेन्द्र लगातार आउट हुँदा नामिबिया विरुद्ध २२१ रनको लक्ष्य पछ्याएको नेपालले ५८ रनमा ४ विकेट गुमाइ सकेको थियो । पाँचौ विकेटका लागि देव खनाल र आरिफ शेखले ४५ रनको साझेदारी गरे । तर यो साझेदारी तोडिएपछि राम्रो साझेदारी बन्न सकेन । आरिफले एकछेउबाट इनिङ्स सम्हाल्दै अर्धशतक पूरा गरे पनि नेपाल ४६.५ ओभरमा १८० रनमै अलआउट भयो ।

सट सेलेक्सनमा कमजोरी रहेकाले टप अर्डर र मिडल अर्डरको विकेट निरन्तर जाँदा त्यसपछिका खेलाडीलाई अझ दबाब परेको थियो । अर्कोतर्फ सुरुको १० ओभर पावर प्लेमा नेपाल भन्दा नामिबिया धेरै राम्रो थियो । नामिबियाले १० ओभरमा १ विकेट गुमाएर ६२ रन बनाएको थियो । नेपाललेले त्यस त्यसको आधा (३१/१) रन मात्र बनाएको थियो । खेलपछि नेप्लेजसँगको कुराकानीमा नेपालका प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप लामिछानेले ब्याटिङमा राम्रो हुन नसकेको स्वीकार गरेका थिए । ‘परिस्थिति अनुसार ब्याटिङ समूहले खेल्न सकेन । नराम्रो भन्न खोजेको होइन । तर महत्वपूर्ण समयमा विकेट गयो’, पुबुदले भने । उनले बलिङमा पनि केही गल्ती भएको र अतिरिक्त रनहरु दिएको बताए ।

गत अप्रिलमा कीर्तिपुरमा भएको पपुवा न्यु गिनी र मलेसिया सम्मिलित टी-२० शृंखलामा नेपालले उपाधि जित्दा दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यही बेला पपुवा न्यु गिनी विरुद्ध एकदिवसीय खेलमा पनि दीपेन्द्रले शतक प्रहार गरे ।तर त्यसपछिका एकदिवसीय खेलमा भने उनले आफ्नो स्वभाविक स्थान भन्दा तल अर्थात पाँचौ नम्बरमा ब्याटिङ गरेका छन् । तर उनको प्रदर्शन भने उस्तै रहेन । लिग टु अन्तर्गत अमेरिका टुरमा उनले ओमान विरुद्ध १६ र ६* रन बनाएका थिए । अमेरिका विरुद्ध १ र ७ रनमा आउट भएका थिए । नामिबिया विरुद्ध पछिल्लो खेलमा ४ रनमा आउट भए । क्यानडा टुरमा उनी खाता नखोली आउट भए । दीपेन्द्रको स्थानमा उपकप्तान रोहित पौडेलले चौथो नम्बरमा ब्याटिङ गरिरहेका छन् । अमेरिका टुरमा एक खेलमा ६२ रन बनाएका उनी अन्य खेलमा २०, २६* र १६ रनमा आउट भए । यस्तै नामिबिया विरुद्ध पछिल्लो खेलमा उनले खाता नै खोल्न सकेनन् । दीपेन्द्र र रोहितको पोजिसन चेन्ज हुँदा दुवैबाट रन निस्कन सकेको छैन । विशेषगरी मिडल अर्डरमा यी दुई खेलाडी नै मुख्य हुन् । त्यसपछि ब्याटिङ गरेका आरिफले संयमित ब्याटिङ गरे पनि त्यतिले मात्र पर्याप्त भएको छैन । नामिबिया विरुद्ध हारपछि प्रशिक्षक पुबुदु दासानायकेले स्कटल्याण्ड विरुद्धको खेलमा ब्याटिङ अर्डर परिवर्तन हुन सक्ने संकेत गरेका छन् । ‘व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शहनका लागि ब्याटिङ अर्डर रिसफल हुन सक्छ’, दासानायकेले भने । कप्तान सन्दीपले पनि नेपालले ब्याटिङमा अझ पुस गर्नुपर्ने बताएका छन् । उनले भने, ‘सुधार गर्नुपर्ने ठाउँहरु छ । परिस्थिती अनुसार म्याच अवरनेस (खेलबारे ज्ञान) हुनुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here