काठमाडौं ,२८,असार ।
फुटको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र डा. बाबुराम भट्टराई पक्षले आज अलग-अलग बैठक बोलाएका छन् । उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि पर्साको वीरगञ्जस्थित पुजन होटलमा बोलाएको छ । भोलिदेखि टाउन हलमा केन्द्रीय समितिको विस्तारित बैठक बस्ने यादव पक्षले जनाएको छ । भट्टराई पक्षले पनि आज नै काठमाडौंको जडिबुटीस्थित एक ब्यांक्वेटमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । बैठक दुई दिनसम्म चल्ने छ । यादव र भट्टराईले पार्टीबाट अलग-अलग हुने समझदारी गरिसकेका छन् । सोही समझदारी अनुसार दुई पक्षका नेताहरुले समानान्तर बैठक बोलाएका हुन् । यससँगै यादव र भट्टराई एकअर्काबाट अलग्गिएका छन् । अध्यक्ष उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु बैठकमा सहभागी हुन वीरगञ्ज पुगिसकेका छन् । यादव पक्षले भट्टराई पक्षको बैठक विधान विपरीत भएको भन्दै आफ्नो बैठक आधिकारिक भएको दाबी गरेको छ ।
