काठमाडौं,२६,असार  ।

चुक्ता पूँजी बढाउने सरकारको प्रस्तावमा सेयर धितोपत्र दलाल व्यवसायीहरुले बजारको वास्तविक अवस्था र र पूँजी वृद्धिको आवश्कता र औचित्यमाथि प्रश्न उठाएका छन् । तर, बजार बढ्दाको अवस्थामा ब्रोकरहरुले गर्ने आम्दानीले लगानीको तुलनामा उच्च हुने गरेको देखिएको छ । नेपाली (सेयर ब्रोकर) ले अघिल्लो आर्थिक वर्षमा मात्रै ७ अर्ब ५६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका थिए । आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालनमा रहेको ५० वटा ब्रोकरले कुल २ अर्ब ९९ करोड रुपैयाँ खर्चिंदा ७ अर्ब ५६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका थिए । यसरी ब्रोकरहरुले औसत १ रुपैयाँ लगानी गर्दा करिब ३ रुपैयाँ ९० पैसा कमााएको देखिन्छ । आर्थिक वर्ष २०७७/०७८ मा ब्रोकरहरुको वार्षिक प्रतिसेयर आम्दानी करिब ३९० रुपैयाँ रहेको तथ्यांकले देखाउँछ ।

ब्रोकरहरुले उक्त आर्थिक वर्षमा १० अर्ब कुल सञ्चालन आम्दानी गरेका छन् । जसमध्ये २ अर्ब ९९ करोड रुपैयाँ मात्रै सञ्चालन खर्च छ । धितोपत्र दलाल व्यवसायीले लगानीकर्ताले सेयर कारोबार गरेको रकमबाट प्राप्त हुने कमाइ नै उनीहरुको आम्दानी हो । आर्थिक वर्ष २०७७/०७८ मा कुल १४ खर्ब ५४ अर्ब ४४ करोड ४२ लाखको धितोपत्र कारोबार भएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा १ खर्ब ५० अर्ब ३ करोडको सेयर कारोबार भएकोमा आर्थिक वर्ष २०७७/०७८ मा कारोबार रकम ८६९ प्रतिशतले वृद्धि भएको नेपाल धितोपत्र बोर्डको वार्षिक प्रतिवेदनमा उल्लेख छ । कोभिड-१९ सँगै सेयर बजारमा लगानीकर्ताको आकर्षण ह्वातै वृद्धि हुँदा नेप्से र कारोबार रकम वृद्धि भएको थियो । कारोबार रकम वृद्धि हुँदा ब्रोकरले पाउने कमीसन पनि बढेको हो । जसले गर्दा ब्रोकरको आदानी सँगै नाफामा पनि उल्लेख्य वृद्धि भएको तथ्यांकले देखाउँछ ।

सञ्चालनमा रहेका ५० वटा सेयर ब्रोकरमध्ये सबैभन्दा धेरै नाफा नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८) को छ । ५ करोड ७५ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले ५० करोड १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । वार्षिक आम्दानी ७४ करोड ९५ लाख रुपैया रहेको कम्पनीको वार्षिक खर्च २४ लाख ८२ हजार रुपैयाँ रहेको छ । कम्पनीको खुद नाफा र चुक्ता पूँजी हेर्दा वार्षिक प्रतिसेयर आम्दानी करिब ८७२ रुपैयाँ देखिन्छ ।

आर्थिक वर्ष २०७७/०७८ मा ब्रोकर नम्बर ४२ सनी सेक्युरिटिज कम्पनीको प्रतिसेयर आदानी १ हजार २४० रुपैयाँ रहेको छ । २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको खुद नाफा २४ करोड ८० लाख रुपैयाँ रहेको छ । आर्थिक वर्षमा कुल ३० करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीको खर्च ६ करोड १८ लाख रुपैयाँ रहेको छ । यता व्यवसायमा कमजोर भने स्वर्णलक्ष्मी सेक्युरिटिज कम्पनीको देखिएको छ । ५ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले ४ करोड २४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।नियामक निकाय नेपाल धितोपत्र बोर्डले सेयर कारोबार वापत दालाल व्यवसायीले लिने कमिसनमा समय समयमा परिमार्जन गर्दै आएको छ । बोर्डले ब्रोकर कमिसन समायोजन गर्नुपर्ने भन्दै त्यसका लागि समिति नै बनाएको छ । बोर्डको वर्तमान अध्यक्ष रमेशकुमार हमालले पदभार ग्रहण गर्दै गर्दा ब्रोकर कमिसन समायोजन गर्न आवश्यक रहेको भन्दै त्यसका लागि समिति गठन गर्ने बताएका थिए ।ब्रोकर कम्पनीले हाल ५० हजार रुपैयाँसम्म सेयर खरिदबिक्री गर्दा लगानीकर्ताबाट कारोबार रकमको ०.४० प्रतिशत शुल्क लिन सक्ने व्यवस्था बोर्डले गरेको छ । ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, पाँच लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दा माथि एक करोड रुपैयाँसम्मको कारोबारमा प्रतिकारोबार ०.३० प्रतिशत र १ करोडभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत कम्पनीसन लिनसक्ने व्यवस्था बोर्डले गरेको छ ।यस बाहेक सामूहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको कारोबार गर्दा ५ लाख रुपैयाँसम्मको कोरोबार ०.१५ प्रतिशत, ५ लाख देखि ५० लाखसम्मको कारोबारमा ०.१२ प्रतिशत र ५० लाख भन्दा माथिको कारोबारमा ब्रोकरहरुले ०.१० प्रतिशत कमीसन लिंदै आएका छन् । तर, सानो रकमको कारोबार भएर कमिसन रकम १० रुपैयाँभन्दा कम हुन आएमा भने प्रतिकोबार १० रुपैयाँ कमिसन लिन सक्नेछन् ।

यसरी प्राप्त हुने कमिसनबाट वार्षिक रुपमा प्राप्त गरेको कुल कमिसनको ०.६ प्रतिशत रकम नियमन शुल्कको रुपमा ब्रोकरले नेपाल धितोपत्र बोर्डलाई बुझाउनु पर्छ । ब्रोकरले सोही कमिसनबाट प्राप्त हुने आम्दानी नै कुल आम्दानी हो भने, खर्च कटाएर हुने आम्दानी खुद नाफा हो ।धितोपत्र बोर्डको हालै मात्रै ब्रोकर कम्पनीको पूँजी बढाउने प्रस्ताव गरेको छ । बोर्डले गत साता धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ को संशोधित मस्यौदा सञ्चालक समितिबाट स्वीकृत गर्दै अर्थमन्त्रालयमा पठाएको छ । संशोधन प्रस्तावमा नयाँ ब्रोकर लागि खुला लाइसेन्स मापदण्ड लागू गर्ने प्रस्ताव गर्दै धितोपत्र व्यापारी (स्टक डिलर) लाइसेन्सको लागि १ अर्ब ५० करोड पूँजी प्रस्ताव गरेको छ । सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीलाई २० करोड, पूर्ण कार्य गर्ने धितोपत्र दलालको लागि ६० करोड चुक्ता पूँजी प्रस्ताव गरेको छ । यस्तै हाल सञ्चालनमा रहेको ब्रोकरले २ वर्षभित्र तोकेको पूँजी पुर्‍याउनुपर्ने प्रस्ताव बोर्डको छ । नियमावील मन्त्रिपरिषद्‍बाट स्वीकृत भएर आएपछि कार्यान्वयन हुनेछ ।

सञ्चालनमा रहको ब्रोकरहरुमध्ये कुनै पनि कम्पनीको चुक्ता पूँजी १० करोडभन्दा माथि छैन । ५० ब्रोकरको पूँजी औसतमा ३ करोड ८८ लाख रहेको छ ।सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीलाई २० करोड, पूर्ण कार्य गर्ने धितोपत्र दलालको लागि ६० करोड चुक्ता पूँजी पुर्‍याउने २ वर्षमा ठूलो मात्रमा पूँजी थप गर्नुपर्ने अथवा मर्जर गर्नुपर्ने अवस्था देखिन्छ । ‘बोर्डले ब्रोकर लाइसेनस खुला राख्ने नीति लिंदा कर्पोरेट घरानाको प्रवेशले आफू विस्तापित हुनुपर्ने हो कि भन्ने आशंका गरेको देखिन्छ । पूँजी वृद्धि गर्ने बोर्डको तयारीमा ब्रोकरले खुलेर विरोध गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here