पोखरा,२६,असार  ।

गण्डकी सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले सरकारी बजेट आफ्ना दिवंगत आफन्तको नाममा कोष र पार्क बनाउन विनियोजन गरेको पाइएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, मन्त्री मेषलाल श्रेष्ठ, कांग्रेस केन्द्रीय नेता अर्जुनप्रसाद जोशी, कांग्रेस नेतृ सीताकुमारी काफ्ले लगायतले प्रदेश सरकारको बजेट दिवंगत आमाबाबुको नामको योजनामा पारेका छन् । मुख्यमन्त्री पोखरेलले दिवंगत बाबु गोवद्र्धन शर्माको नाममा स्मृति पार्क बनाउन ५० लाख रुपैयाँ विनियोजन गरेका छन् । यो रकमबाट प्रदेशको सामाजिक विकास मन्त्रालयले तनहुँको व्यास नगरपालिकामा पार्क बनाउनेछ । प्रदेशका सामाजिक विकासमन्त्री मेषलाल श्रेष्ठको मातापिता पुननारायण, धनकुमारी श्रेष्ठको नाममा रहेको ट्रस्टका लागि प्रदेश सरकारले दुई फरक शीर्षकमा १ करोड रुपैयाँ विनियोजन गरेको छ । उक्त ट्रस्टको भवन बनाउन भौतिक पूर्वाधार मन्त्रालयबाट कार्यान्वयन हुने गरी ५० लाख र ट्रस्टकै नाममा ‘छुटेको कार्यक्रम’ अन्तर्गत पुनः ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । उक्त बजेटको कार्यान्वयन भने मन्त्री श्रेष्ठकै सामाजिक विकास मन्त्रालयले गर्नेछ । ट्रस्टको भवन मन्त्रीको गृहजिल्ला स्याङ्जा भीरकोटमा बन्नेछ । पर्वतमै स्मृति प्रतिष्ठान गठन गरी कांग्रेसका स्वर्गीय नेता डिल्लीराम लामिछानेको नाममा पनि बजेट विनियोजन भएको छ । उक्त प्रतिष्ठानका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन गरेको छ । लामिछाने कुश्माकी निवर्तमान उपमेयर सीताकुमारी काफ्लेका श्रीमान हुन् । उक्त बजेटको कार्यान्वयन भौतिक विकास मन्त्रालयले गर्नेछ । यस्तै, मुख्यमन्त्री पोखरेलकै बाबुको नाममा दमौली अस्पतालमा रहेको ‘गोवद्र्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र’बारे सम्भाव्यता अध्ययन गर्ने भन्दै १० लाख रूपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारले नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाका नाममा गण्डकी प्रदेशका १२ ठाउँमा पार्क र भवन बनाउने भएको छ । त्यसका लागि अर्थमन्त्री रामजी बरालले १ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् । त्यसबाहेक प्रदेश सरकारले कास्कीको सिक्लेसमा शान्ति स्मारक पार्क बनाउन १ करोड, पोखरा २८ मा थमन स्मृति पार्क बनाउन १० लाख, माछापुच्छ«ेमा हरिबहादुर स्मृति पार्क बनाउन १० लाख, तनहुँको बन्दीपुरमा शहीद स्मृति पार्क बनाउन ५ लाख, भानुमा १० लाख, पर्वतको फलेबासमा ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।छुटेका कार्यक्रम समावेश गरिएको भन्दै प्रदेश सरकारले ल्याएको सेतो किताबमा मन्त्री, नेताका आफन्तको नाममा पार्क तथा भवन बनाउन बजेट विनियोजन भएको हो । उक्त पुस्तकमा २७ करोड रुपैयाँका योजना समावेश गरिएका छन् । सेतो पुस्तकबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा जवाफ मागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here