सिरहा,२२,असार ।
सिरहामा सामूहिक बलात्कारमा परेकी बालिका आत्महत्या गर्न बाध्य भएको भन्दै परिवाजनले अनुसन्धानको माग गरेका छन् । मिर्चेया नगरपालिका-१ की १४ वर्षीया बालिकालाई गाउँकै दुई युवकले बलात्कार गरेपछि बालिकाले झुण्डिएर आत्महत्या गरेको परिवारजनको आरोप छ । बालिका मंगलबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । बालिका झुण्डिएको अवस्थामा फेला परेपछि आत्महत्या गर्न बाध्य पार्नेलाई कारबाहीको माग गर्दै स्थानीयबासिन्दाले पूर्व पश्चिम राजमार्ग बन्द गरी प्रदर्शन गरेका छन् । प्रहरीले आरोपितलाई पक्राउ गर्ने प्रतिबद्धता व्यक्त गरेपछि राजमार्ग खोलिएको थियो । बालिकाका दाजु जगनारायण सदाका अनुसार घरमा कोही नभएको अवस्थामा गाउँका दुई युवकले सोमबार दिउँसो जबर्जस्ती करणी गरेका थिए । घट्नाबारे सोमबारै साँझ बालिकाले परिवारलाई बताएकी थिइन् । घटना सुनाएको भोलिपल्टै मंगलबार बिहान ती बालिका झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । इलाका प्रहरी कार्यालय मिर्चैयाले मृत बालिकाका परिवारले आत्महत्या दुरुत्साहन शीर्षकमा उजुरी दिएको बताएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले बालिकाको शवलाई पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल लगिएको बताए । उनले पोष्टमार्टमको रिपोर्ट आएपछि थप अनुसन्धानलाई अघि बढाउने बताए ।