काठमाडौं,२२,असार ।
चीनमा आयोजना हुने १९ औं एशियाली खेलकुद कोरोना महामारीका कारण
अनिश्चितकालका लागि स्थगित भएको छ । यद्यपि नेपालले सहभागिता जनाउने २३ खेल
मध्येको महिला फुटबल टोलीले दशरथ रंगशालामा अभ्यास गरिरहेको छ । बलिया
राष्ट्रहरुसँग राम्रो नतिजा निकाल्ने लक्ष्यसहित महिला टोली अभ्यासमा
तल्लिन रहेको हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कमै मात्र आयोजना हुने महिला फुटबलले
चीनमा आयोजना हुने १९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने
निश्चित भएको छ । मिति तय भइसकेको प्रतियोगिता कोरोनाका कारण अनिश्चितकालका
लागि स्थगित भएपनि पदकको आशामा तयारीलाई निरन्तरता दिएको हो । विगतका
संस्करणमा सहभागितामा सिमित हुँदै आएको नेपाल पदकमुखी हुँदै तयारी गर्न
थालेको हो । त्यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले सहभागिता जनाउने सबै
खेललाई तयारी थाल्न निर्देशन अनुसार महिला फुटबलले दशरथ रंगशालामा तयारीलाई
तीब्रता दिइरहेको हो । पहिलोपटक महिला टोली सम्हालेका मुख्य प्रशिक्षक
बालगोपाल महर्जनले महिला टोलीलाई दैनिक २ घण्टा अभ्यास गराइरहनुभएको छ ।
तीन साताको अभ्यासमा टेक्निकल र फिटनेस लेभलमा धेरै सुधार आएको र महिला
टोलीलाई एक्स्पोजरको खाँचो रहेको बताउनुभयो ।
यो बीचमा महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने निश्चित पनि भइसकेको
छ । अभ्यासको क्रममा नेपाली टोलीकी भरपर्दो खेलाडी तथा अघिल्लो खेलमा
कप्तानको भुमिका निर्वाह गर्नुभएकी रेनुका नगरकोटी चोटग्रस्त हुँदै उपचारमा
हुनुहुन्छ । रेनुकाको घाँटीमुनिको बायाँ हड्डी फ्याक्चर भएको छ । यसअघि
स्ट्राइकर सावित्रा भण्डारी घुँडाको चोटका कारण मैदान बाहिर रहँदा नेपालले
अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेको थिएन । टोलीलाई गोल गर्ने खेलाडीको
निकै कमी महशुस भएको थियो । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले रेनुका
जस्तो महत्वपूर्ण खेलाडी गुमाउनु पर्दा निकै दुःख लागेको बताए ।
रेनुकाले घरेलु मैदानमा भदौ १३ देखि २५ गतेसम्म आयोजना हुन लागेको साफ
च्याम्पियनसिप गुमाउने निश्चित भएको छ भने एशियाली खेलकुद अझै अनिश्चित छ ।
नेपाली महिला टोली विगतको नतिजमा सुधार ल्याउने लक्ष्यका साथ कडा मिहेनत
गरिहेको हो । साथै टोली धेरै भन्दा धेरै प्रतियोगितामा अनुभव लिएर
अन्तर्राष्ट्रिय सहभागितामा पदक ल्याउने योजनामा छ । त्यसका लागि सम्बन्धित
निकायले पहल गर्न उत्तिकै आवश्यक छ ।