काठमाडौं,२१,असार ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको
सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन काँग्रेसले आयोजना गरेको स्व.नेता
गिरिजाप्रसाद कोईरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै
प्रधानमन्त्री देउवाले गठबन्धनमा भएका राजनीतिक समस्यालाई सामान्यरुपमा
लिनुपर्ने बताउनुभएको हो । उहाँले एउटै पार्टीमा पनि समस्या हुने गरेको
भन्दै गठबन्धनमा आएका कुर्सीका समस्याहरुलाई सामान्य रुपमा लिन आवश्यक
रहेको बताउनु भयो । प्रधानमन्त्री देउवाले मोरङको विराटनगरमा रहेको भवनलाई
स्व. नेता गिरिजाप्रसाद कोईरालाको नाममा संग्रहालय बनाउने कुरा स्वागतयोग्य
रहेको बताउनु भयो । उहाँले संग्रहालय बनाउने कुरामा सरकारले सहयोग गर्ने
पनि प्रतिवद्धता जनाउनु भयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘मोरङ, विराटनगरमा एउटा उहाँको भवन छ
त्यसलाई उहाँकै नाममा बनाउने कुरा छ । यो राम्रो हो, खुशीको कुरा हो ।
नेपालमा उहाँले आन्दोलन गरेको ठाउँमा भवन छ भने बनाउनु के आपत्तिको कुरा
भयो र ? हामी यसमा सहयोग र पहल गर्ने नै छौँ । धनराजजीहरुले पनि भन्नुभयो,
गठबन्धनमा समस्या आयो । एउटै पार्टीमा त समस्या हुन्छ भने कुर्सीमा त
समस्या हुन्छ नै यसलाई समान्य रुपमा लिनुपर्छ । तपाईहरु प्रधानमन्त्री
भएपछि थाहा पाउनुहुन्छ ।’
प्रधानमन्त्री प्रधानमन्त्री देउवाले सधैँ जनताको लागि लडिरहने नेता
गिरिजाप्रसाद कोईरालाको सालिक अनावरण गर्न पाउँदा खुशी लागेको बताउनु भयो ।
उहाँले स्व. नेता कोईरालाले दलहरुबीच सहकार्य र सहमति गरेर अघि बढ्नुपर्ने
कुरा बारम्बार भनिरहने उल्लेख गर्दै आजपनि सहमति र सहकार्यको कुरा
सान्दर्भिक रहेको बताउनु भयो । प्रधानमन्त्री देउवाले नेपाल ट्रेड युनियन
काँग्रेसको कार्यालयमा ट्रेड युनियन काँग्रेसका संस्थापक अध्यक्ष स्व. नेता
गिरिजाप्रसाद कोईरालाको अर्धकदको शालिक अनावरण गर्नुभयो ।