काठमाडौं,१९,असार ।
महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पत्तिमाथि थप कारवाही हुने भएको छ । नगरप्रहरीको कारवाही गर्दा प्रतिवाद गरेका दम्पतीमाथ थप कारवाही गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।मकै बेच्दै गर्दा शुक्रबार काठमाडौं महानगरपालिकाको नगर प्रहरीले लछारपछार गर्दै ठेला लगेको भिडियोले सामाजिक सञ्जालमा अहिले चर्चा पाएको छ । उनीहरुले नगर प्रहरीले घुस मागेको आरोप लगाएपछि महानगरपालिकाले यसअघि सीता आचार्यले नगर प्रहरीमाथि गरेको व्यवहारलाई कारण देखाएर थप कारवाही गर्न लागेको हो ।महानगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार ड्युटीमा रहेको नगर प्रहरीलाई अगुल्टो हानेको र हातापात गरेकले थप कारवाही गर्न प्रक्रिया सुरु भएको छ । घुस माग्न गएका नगर प्रहरीलाई बुधबार अगुल्टोले हानेको आचार्य दम्पत्तीले पनि स्वीकारेका छन् ।‘सरकारी कर्मचारीलाई दोबाटोमा हातपात भएको छ, कारबाही नगरेर नमस्कार गर्नु त ?,’ नगर प्रहरी प्रमुख सापकोटाले प्रश्न गरे,’आवश्यक कारवाही हुन्छ । प्रक्रिया सुरु भइसकेको छ । कारबाही के हुन्छ भन्ने विषयमा भएपछि मात्रै भनौंला ।’
नगर प्ररही प्रमुख सापकोटाले कारवाही के गर्ने भने नखुलाए पनि यत्तिकै छोड्न नमिल्ने तर्क गरे । जनपथ प्रहरीमार्फत उनीहरुमाथि अभद्र व्यवहारको मुद्दा चलाउने महानगर प्रहरीको संकेत छ ।फुटपाथमा बेच्नेहरुमाथि दैनिक कारबाही गरिरहेको भन्दै सपकोटाले निरन्तर भइरहने पनि बताएका छन् । ‘सँधै कारबाही हुन्छ, आज पनि हुन्छ, भोलि पनि हुन्छ । नयाँ कुरा होइन’ उनले भने,’हाम्रो नियमित काम हो, यो ठूलो कुरा होइन ।’नगरप्रहरीको काम नै फुटपाथ, सडक व्यवस्थापन गर्ने भएकोले अन्य टिप्पणी गर्न आवश्यक नरहेको बताए ।नगर प्रहरीका सब इन्स्पेक्टर (सई) राजन श्रेष्ठमाथि दम्पत्तिले ५ हजार घुस मागेको भनेर लगाएको आरोपबारे महानगरपालिका भने मौन छ । ‘अनुसन्धान गर्ने अधिकार प्राप्त अधिकारी आफैं छु । सोधपुछपछि स्पष्टीकरण लिएर अनुसन्धानपछि महानगरले आवश्यक परे मात्रै कारबाही गर्छ, मैले अनुसन्धान गरेर महानगरको नेतृत्वलाई बुझाउने हो, बाँकी उहाँहरुले गर्नुहुन्छ,’ सापकोटाले भने ।काठमाडौं महानगरले फुटपाथमा सामाग्री बेच्न प्रतिबन्ध लगाएको भन्दै सडकपेटीको ठेला, फुटपाथका सामाग्री बेच्न नदिने, बेचेमा थप कारवाही गर्नपछि नपर्ने उनले बताए ।






