काठमाडौं,१४,असार ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रमुख विशेषज्ञ (१२ औँ तह) मा बढुवाका लागि दुई जनाको नाम सिफारिस भएको छ ।स्वास्थ्य मन्त्रालयका स्रोतका अनुसार बढुवा समतिले प्रमुख विशेषज्ञ पद १२ औँ तहमा बढुवाको लागि डा. टंकप्रसाद बराकोटी र डा.संगिता कौशल मिश्राको नाम सिफारिस गरेको हो । मन्त्रालयमा मंगलबार बसेको बढुवा समितिले पहिलो नम्बरमा डा. बराकोटी तथा दोस्रो नम्बरमा डा. मिश्राको नाम सिफारिस गरेको छ । स्वास्थ्यमा अहिले १२औँ तहको एउटा पद रिक्त छ । उमेर हदका कारण गत २ माघमा अवकाश पाएका प्रमुख विशेषज्ञ डा. भीमसिंह तिंकरीको स्थान खाली छ । सो स्थानमा बढुवा लागि मन्त्रालयले गत ६ चैतमै सूचना निकालेको थियो ।सिफारिसमा पर्ने डा. बराकोटी मेची अस्पताल र डा. मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखामा कार्यरित छन् । प्रमुख विशेषज्ञ (१२औँ तह) मा बढुवामार्फत मात्र पदपूर्ति हुने व्यवस्था छ ।
११औँ तहमा कम्तीमा ५ वर्ष सेवा गरेका विशेषज्ञहरू १२औँ तहमा बढुवाका लागि योग्य हुन्छन् । बढुवा कार्यक्षमता मूल्यांकनका आधारमा हुने व्यवस्था छ ।पछिल्लो ५ वर्षको कासमु र अन्य ३ शीर्षकमा कर्मचारीले प्राप्त गरेको अंकका आधारमा योग्यताक्रममा अब्बल व्यक्तिलाई मन्त्रिपरिषद्ले १२औँ तहमा बढुवा गर्नुपर्छ । तर, सिफारिसमा परेकी डा. संगिता कौशल मिश्रामाथि किर्ते डकुमेन्ट पेश गरेर जागिर खाएको आरोप लाग्दै आएको छ ।डा. मिश्रामाथि भने एक वर्ष समय बढाएर खुलामा डकुमेन्ट ‘किर्ते’ पेश गरी एघारौं तहमा पुगेको आरोप उनीमाथि छ । मिश्राले सरकारी सेवामा प्रवेश गर्दा पूरा समय काम नगरी एक वर्ष सेवा अवधि बढाएर नक्कली कागज पेश गरी जागिर खाएको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् ।
उक्त विवादकाबीच उनको नाम सिफारिस भएको बुझिएको छ । स्वास्थ्य सेवाको अधिकृत एघारौं तहमा जागिर खान एमबीबीएस गरेपछि ७ वर्ष काम गरेको हुनुपर्ने प्रावधान छ । तर, मिश्रा एमबीबीएस गरेको ६ वर्षमै अमेरिकामा पढ्न गएकी थिइन् ।अमेरिकामा पढ्न गएकी संगिताले तत्कालीन स्वास्थ्य सचिव डा. प्रविण मिश्रलाई प्रयोग गरेर त्यो अवधिमा पनि नोबेल अस्पतालमा काम गरेको कागजात तयार पारेर पेश गरेको मन्त्रालयका अधिकारी बताउँछन् ।। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी तत्कालीन डा. मिरा उपाध्याय र डा. मिश्राले खुला प्रतिस्पर्धामा भाग लिएका थिए । तर, संगिताको एमबीबीएस गरेर सात वर्ष पुगे पनि सेवा अवधिको हिसाबले ६ वर्ष मात्रै पुगेको थियो ।बढुवा सिफारिस समितिमा लोकसेवा आयोगको अध्यक्ष वा निजले तोकेको लोकसेवा आयोगको सदस्य– अध्यक्ष, लोकसेवा आयोगको अध्यक्षले तोकेको लोकसेवा आयोगको सदस्य, मुख्यसचिव-सदस्य, लोकसेवा आयोगद्वारा मनोनीत सम्बन्धित विषयको विशेषज्ञ -सदस्य र स्वास्थ्य मन्त्रालयको सचिव– सदस्य–सचिव हुने व्यवस्था छ ।








