काठमाडौं ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग विस्थापित सुकुमवासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका माग गरेका छन् ।प्रधानमन्त्री वालेनले ‘वास्तविक क्रान्ति ज्ञ (ज्ञान) बाट सुरु हुन्छ’ भनेपछि उनले शनिबार फेसबुकमार्फत् विस्थापित सुकुमवासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका माग गरेका हुन् ।‘विस्थापित सुकुमवासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका चाहियो प्रधानमन्त्रीज्यू,’ महासचिव पोख्रेलले भनेका छन् ।प्रभावित तथा असुरक्षित महसुस गरिरहेका सुकुमवासी नागरिकलाई स्पष्ट योजनाका साथ समयमै आश्वस्त पार्नुपर्ने भन्दै उनले मानवता, मानवीय जिम्मेवारी र दीगो समाधानतर्फ सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।वास्तविक क्रान्ति ज्ञ (ज्ञान) बाट सुरु हुन्छ’ भन्ने प्रधानमन्त्रीले आजको यो संकटमा कस्तो क्रान्तिकारी कदम चाल्दै हुनुहुन्छ । पोखरेलले प्रश्न गर्दै भनेका छन्, ‘प्रभावित तथा असुरक्षित महसुस गरिरहेका सुकुमवासी नागरिकलाई स्पष्ट योजनाका साथ समयमै आश्वस्त पार्नुपर्ने हैन र ? मानवता, मानवीय जिम्मेवारी र दीगो समाधानतर्फ सरकार गम्भीर बनोस् ।उनले तत्कालीन समयमा २०७५ सालमा बारा–पर्सामा आएको भीषण आँधीबाट प्रभावितहरूका लागि तत्कालीन एमाले नेतृत्वको सरकारले छोटो समयमै आवास निर्माण गरेर पुनर्स्थापना गरेको स्मरण गरेका छन् ।महासचिव पोखरेलले आँधीबाट तत्कालीन समयमा २८ भन्दा बढी नागरिकको मृत्यु भएको, ११५० भन्दा बढी घाइते भएका र झण्डै २५ सय घरमा क्षति पुगेर हजारौं मानिस घरवारविहीन बनेको तथ्यांक उनले फेसबुकमा उल्लेख गरेका छन् ।








