काठमाडौं,७,असार  ।

नेपाली कांग्रेसले विदेशमा रहेका नेपालीहरुलाई पनि मताधिकार दिन माग गरेको छ ।कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मंगलबार निर्वाचन आयोगका पदाधिकारीहरुलाई भेटेर विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन माग गरेका छन् । भेटपछि महामन्त्री शर्माले भने, ‘नेपाल बाहिर रहेका नेपालीहरुको नोट चल्ने बनाएर मात्र हुँदैन, भोट चल्ने दिन बनाउनुपर्छ ।’

उनका अनुसार सोमबार भएको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यसमा सकारात्मक जवाफ दिँदै कानुन निर्माणमा अग्रसरता देखाउने आश्वासन दिएका थिए ।आयोगका पदाधिकारीहरुले पनि सर्वोच्च अदालतको आदेशअनुसार कानुनको मस्यौदा केही दिनमै सरकारलाई दिने बताएका छन् । उनीहरुका अनुसार प्रत्यक्षतर्फभन्दा समानुपातिकतर्फ मत दिने बनाउन तुलनात्मक रुपमा सहज देखिन्छ । यद्यपि यसका लागि पनि निर्वाचनसम्बन्धी विद्यमान कानुनमा कम्तिमा ५ स्थानमा संशोधन गर्नुपर्छ ।

कांग्रेस महामन्त्रीद्वयले कानुन निर्माणका लागि सरकारलाई घचघच्याउने बताएका छन् । साथै कानुन संशोधन नगर्दै विदेशमा रहेका नेपाली, जो मतदानको बेला नेपालमा आइपग्न सक्छन्, उनीहरुको नामावली संकलन गर्न सुझाव दिएका छन् । आयोगले पनि यसबारे आन्तरिक छलफल थाल्ने र सम्भव भए साउन १ गतेबाट विदेशमा रहेका नेपालीहरुको नाम संकलन गर्ने आश्वासन दिएको छ ।कांग्रेसका महामन्त्रीद्वयले काठमाडौंमा भइरहेको मतदाता नामावली संकलनलाई व्यवस्थित बनाउन पनि आग्रह गरेका छन् । महामन्त्री थापाका अनुसार काठमाडौं जिल्लाका मतदाताका लागि छुट्टै र बाहिरका मतदाता जो, काठमाडौंमा बस्छन्, उनीहरुका लागि छुट्टै केन्द्र तोकेर नामावली संकलन गर्न आग्रह गरिएको छ ।अघिल्लो पटक जस्तै स्थानीय तहमै नामावली संकलन गर्न समेत आयोगलाई आग्रह गरिएको उनले बताए ।निर्वाचन आचार संहिता कार्यान्वयनका साथै निर्वाचन खर्च घटाउने विषयमा पनि छलफल भएको महामन्त्री थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here