काठमाडौं,२,असार  ।

नेपालले बर्सेनि जैविक विविधतामा क्षति व्यहोर्दै आएको छ । हरेक वर्ष हुने बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएको हामीले देख्दै र भोग्दै आएका छौं । यस्तो विपदको बेला उद्धार, राहत र पुनर्निर्माणको काममा मात्र होइन, सम्भावित जोखिमलाई रोक्ने पूर्वतयारीसम्मको काममा सुरक्षाकर्मीलाई परिचालन गर्ने विश्वव्यापी प्रचलन छ ।नेपालमा पनि बाढी पहिरो, भूकम्प, महामारी, आगलागीका घटनाको बेला नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गर्ने गरिएको छ । त्यतिमात्रै होइन सम्भावित जोखिम व्यवस्थापनको पूर्वतयारीमा पनि सुरक्षाकर्मीलाई नै अघि सार्ने गरिएको छ । नेपाली सेना यसको प्रमुख उदाहरण हो ।

हुन त नेपाली सेनाको मुख्य काम सिमानाको रक्षा गर्दै देश र जनतालाई सम्भावित बाह्य आक्रमणबाट जोगाउने हो । तर यही सिमानाभित्र हुने प्राकृतिक तथा मानव सिर्जित विपदको बेला खोज, उद्धार, राहत, पुनर्निर्माण र विकासका काममा पनि सेना परिचालन हुँदै आएको छ ।त्यतिमात्रै होइन नेपालको प्रकृति र भौगोलिक विशिष्टीकरण अनुसार नेपाली सेनालाई जल, जंगल र जमिनको सुरक्षामा पनि परिचालन गरिएको छ । १९७३ मा चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएदेखि नै त्यसको सुरक्षा जिम्मा नेपाली सेनाले पाएको छ । पछिल्लो समय भने २०७२/७३ देखि नेपाली सेना चुरे क्षेत्रको जंगल र ताल संरक्षणमा पनि सक्रिय रहँदै आएको छ ।

नेपाली सेना राष्ट्रपति चुरे तराई मधेश विकास समितिसँगको सहकार्यमा चुरे संरक्षणमा सक्रिय छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिसँगको सहकार्यमा क्षतिग्रस्त जमिन पुनरुत्थान कार्यक्रम अन्तर्गत तटबन्ध निर्माण, तारबार घेराउ, वृक्षरोपण कार्यको साथै नासिंदै गएको चुरे क्षेत्रका ताल तलैया रामसार र सिमसार क्षेत्रको संरक्षण, सम्बर्द्धन तथा पुनर्निर्माणका काम समन्वयात्मक, प्रभावकारी र दिगो रुपमा सन्चालनको व्यवस्था गर्ने नेपाली सेनाको भनाइ छ ।सोही अनुसार नेपाली सेनाले २०७२/७३ देखि हालसम्म चुरे क्षेत्रमा पर्ने सिन्धुली, सिरहा, नवलपरासी र दाङ जिल्लामा ८७९.५ हेक्टर जग्गामा १४ लाख ४३ हजार ६१९ बिरुवा रोपेर जंगल क्षेत्र विस्तारमा सहयोग पुर्याएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवाल बताउँछन् ।असार २ गते आठौं चुरे संरक्षण दिवस मनाइँदै छ । दिवसको अवसरमा एकै दिन १ लाख रुपैयाँ बिरुवा रोप्ने राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको लक्ष्य छ । यसपटक ठूला प्लटमा वृक्षरोपण गर्ने, तारबार गरेर सुरक्षा दिने र विविध प्रजातिका बिरुवा रोपेर उत्पादन बढाउने योजना रहेको विकास समितिले जनाएको छ ।यही योजना अन्तर्गत नेपाली सेनाले पनि आर्थिक वर्ष २०७९/८० मा सिरहा, सुनसरी, सप्तरी, नवलपरासी, रुपन्देही, दाङ र रुपन्देही जिल्लामा पनि वृक्षरोपण तथा संरक्षणका कार्यक्रम सन्चालन गर्ने नेपाली सेनाका प्रवक्ता सिलवालले जानकारी दिए । ‘वृक्षरोपणका लागि आवश्यक बिरुवाहरु आफ्नै गणहरुका नर्सरीमा उत्पादन गर्नुका साथै निजी नर्सरीहरुबाट पनि खरिद गरेर काम गर्दै आएका छौं,’ नेपाली सेनाका प्रवक्ता सिलवालले भने ।नेपाली सेनाले चुरे क्षेत्रभित्र पर्ने विभिन्न ताल तलैयाको संरक्षण तथा पुनर्निर्माण पनि गरेको छ । सर्लाहीका लोहजार, मलहनिया र नारीवन, रौतहटका बडहरवा ताल- १, २ र ३, सुनसरीका बर्जु र राजारानी ताल, सिरहाका कमल दह, बाबा ताल र देवी दह, रुपन्देहीको गजेडी ताल, बर्दियाको बढैया ताल, कैलालको कोइलही ताल र चितवनको किङ्गफिसर ताल नेपाली सेनाले पुनर्निर्माण तथा संरक्षण गरेको सफल उदाहरणहरु हुन् । यसबाट भूमिगत जलस्रोतलाई रिचार्ज गर्न टेवा पुग्नुको साथै पर्यापर्यटनमा वृद्धि र पानीमा रहने जीवजन्तुको समेत संरक्षण भएको नेपाली सेनाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here