काठमाडौं,२९,जेठ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौं महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा वडाध्यक्षहरुको प्रश्नको उत्तर दिएका छन् ।अघिल्लो बैठकमा संसदीय प्रणालीबारे सिक्नुपर्ने भन्दै वडाध्यक्षहरुले बालेनलाई आलोचना गरेता पनि यो बैठक सहज ढंगले सञ्चालन भएको छ । बालेनसँग वडाध्यक्षहरुले खानेपानी, सडक, टेलिकमसँगका सहकार्य, बाढी, ढल र फोहोर व्यवस्थापन सम्बन्धी जिज्ञासा र सुझाव प्रस्तुत गरेका छन् । बालेनले तिनको जवाफसमेत दिएका छन् ।सडकमै भल बग्ने समस्याको समाधानका लागि मेयर बालेन साहले हरेक घरमा कम्तिमा पाँच फिटको शोक पिट र हरेक वडामा रिभर्स बोरिङ राख्ने प्रस्ताव गरेका छन् ।हरेक घरमा कम्तिमा पाँच फिटको शोक पिट भएर ग्राउण्ड वाटर रिचार्ज गर्न सकियो भने र हरेक वडामा रिभर्स बोरिङ राख्न सकियो भने पानी सडकमा आउने समस्या नरहने र पानी रिचार्ज पनि हुने उनले बताए । उनले त्रिपुरेश्वर, टेकु लगायतका क्षेत्रमा ढल ठूला राखिने र ढल सफा गर्न जेट मेसिन प्रयोग गरिने बताए । यी काम एकै वर्षमा गर्न सकिने मेयर साहको भनाइ छ ।उनले अबदेखि सडक विभाग, खानेपानी, विद्युत प्राधिकरण लगायतसँग सहकार्य गरेर काम गर्ने बताए । काठमाडौंमा अबको डेढ वर्षभित्र विद्युतका तारहरु भूमिगत हुने जानकारी आफूले पाएको उनले बताए । कार्यपालिका बैठकमा उनले भने ‘विद्युत प्राधिकरणबाट अबको डेढ वर्षभित्र सबै तारहरु अन्डरग्राउन्ड हुन्छ भन्नु भएको छ । यसमा हामी पनि सहकार्य गर्छौं ।’ उनले इन्टरनेटको तार पनि व्यवस्थित गरिने बताए ।

कार्यपालिका बैठकमा वडाध्यक्षहरुले वडामा नगर प्रहरी बढाउन माग गरेका थिए । उनले जवाफ दिँदै अबदेखि नगर प्रहरीको आवश्यकता पर्ने वित्तिकै सिधै नगर प्रहरी प्रमुखलाई फोन गर्न मिल्ने बताए ।यस्तै वडाध्यक्षहरुले सिसडोलमा कसले बल प्रयोग गरेको हो भन्दै गरेको प्रश्नमा बालेनले यो कुरा गृह मन्त्रालयलाई सोध्नुपर्ने र त्यो अधिकार महानगरलाई नभएको बताए । ‘सिसडोलमा हाम्रो मात्रै फोहोर जाँदैन २२, २३ नगरपालिकाको फोहोर जान्छ । प्रहरी परिचालन गर्ने महानगरको अधिकार छैन । त्यो गृहमन्त्रालयको अधिकार हो,’ उनले भने ।काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनले शनिबारको दिन मेयर साह सुन्धारा क्षेत्रको अवलोकनमा आएको बेला आफूलाई थाहै नदिइएको गुनासो गरे । वडा नम्बर ७ का अध्यक्ष विमल कुमार होडाले पनि मेयर साह आफ्नो वडामा अनुगमन गर्न आउँदा समन्वय नगरेको गुनासो गरे ।वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीले रुद्रमतीमा ढलको आकार सानो हुँदा डुबानको समस्या भएको र आफ्नो वडामा १५ दिनभित्र नौ वटा म्यानुअल कभर चोरी भएको सुनाए । उनले कबाडी राख्न दिन नहुने समेत सुझाव दिए ।

यसैगरी वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जनले टेकु क्षेत्रमा थुपारिएको फोहोर विसर्जन गर्ने २१ वडा गाडीहरुमध्ये चल्ने अवस्थाका ९ वटा मात्र रहेको सुनाए । यी गाडीले दिनमा ३ टिप मात्र फाहोर बन्चरेडाँडाँमा लैजाने भन्दै यस्तै स्थिति रहीरहे फोहोर विसर्जन गर्न महिनौं दिन लाग्नसक्ने बताए ।बैठकमा उपमेयर सुनिता डंगोलले बैठक सकारात्मक भएको भन्दै सधैं पूर्व तयारी गरेर बैठक बस्नुपर्ने बताइन् ।काठमाडौं महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकले १२ वटा विषयगत समिति गठन गरेको छ । उपमेयरको संयोजकमा राजश्व परामर्श समिति, न्यायीक समिति सहित विभिन्न १२ वटा विषयगत समिति गठन भएको हो ।आजै १२ वटा विषयगत समितिको संयोजकहरुको बैठक बस्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here