राजविराज,२८,जेष्ठ ।
विपन्न नागरिकलाई लाखौं ऋण दिएर करोडौं असुल गरेको आरोप लागेका मिटर ब्याजी नन्दकिशोर साहलाई अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ ।
अघिल्लो दिन पक्राउ परेका सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारका चर्चित ब्यवसायी ४५ वर्षीय साहलाई शुक्रबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले ठगि तथा अपराधी विश्वासघात मुद्दामा अदालतमा उपस्थित गराएका साहलाई थप अनुसन्धानका लागि पाँच दिनको म्याद उपलब्ध गराइएको जानकारी दिए । विपन्न नागरिकलाई किर्ते तमसुक बनाएर लाखौं लाख रकम ऋण दिने र त्यसवापत करोडौं असुल्ने गरेको पीडितहरुको उजुरी आएपछि साहलाई पक्राउ गरिएको डिएसपी काफ्लेले बताए । अर्का मिटर ब्याजी उनका बुबा रामदेव भने फरार रहेको र खोजी कार्य भइरहेको उनले बताएका छन् । बाबु छोराले गाउँघरका सोझा साझा र विपन्न नागरिकलाई आपतविपत परेका बेला ऋण दिएर दिएको रकम भन्दा दोब्बरको कागजात गराउने गरेको पीडितहरुको भनाइ छ ।अदालतबाट म्याद थपिएपछि अनुसन्धान तीब्र बनाइएको डिएसपी काफ्लेले बताए । समस्या टार्न पाइने आशमा ऋणीहरु चर्को ब्याज तिर्न तयार हुने र यसैको लाभ मिटर ब्याजीहरुले उठाउने गरेको पाइएको अनुसन्धानको क्रममा खुलेको छ । त्यसो त मिटर ब्याजको गलपासो यो मात्रै नयाँ होइन् । मिटर ब्याजको फन्दामा यस अघि पनि थुप्रै पीडित परिसकेका छन् । मिटर ब्याजका नाममा अत्याधिक लाभ लिएका केही व्यक्ति पक्राउ परे पनि अवैध लेनदेन र कारोबार रोकिएको भने छैन् ।








