जेठ २८, काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेस निकट मजदुर संगठन नेपाल ट्रेड युनियन काँग्रेस (एनटियूसी)ले असंगठित र स्वरोजगारको क्षेत्रमा रहेका मजदुरहरुलाई पनि तत्काल योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा ल्याउन सरकारलाई दवाव दिएको छ ।
(एनटियूसी)ले आईतबार (भोली)बाट काठमाडौंमा सुरु हुने आफ्नो छैठौं राष्ट्रिय सम्मेलनको जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा असंगठित र स्वरोजगार क्षेत्रमा रहेका मजदुरहरुलाई तत्काल ल्याउन सरकारसँग पुनः माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै एनटियूसीका अध्यक्ष पुस्कर आचार्यले सरकारले तत्काल सो माग सम्बोधन नगरे आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनु भयो । उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ढिलाई भईरहेको भन्दै आपत्ति समेत जनाउनु भयो । अध्यक्ष आचार्यले भन्नु भयो, ‘सामाजिक सुरक्षा योजना कार्यान्वयनमा सरकारले निष्क्रियता देखिएको छ । यो हाम्रो लागि आपत्तिजनक विषय हो । हाम्रो यो कन्फरेन्समा सामाजिक सुरक्षा योजनाको विषयलाई आन्दोलनको विषय बनाउनुपर्ने देखिएको छ । यो मुलुकमा कानुन लागू गर्न पनि सरकारसँग आन्दोलनको मुद्धा बनाउनुपर्ने स्थिति छ । विशेष गरेर स्वरोजगार र असंगठित क्षेत्रमा रहेका मजदुरहरुलाई सो योजनाको दायरामा ल्याउनका लागि आन्दोलनको आँधिबेहरी उठाउनुपर्ने अवस्था छ । हाम्रो यो सम्मेलनमा त्यस विषयमा काम अघि बढाउनेछ ।’
सम्मेलनमा करिव १ हजार ६ सय प्रतिनिधिहरु सहभागी हुनेछन । महंगी नियन्त्रणका सम्बन्धमा, महिला÷बालिकामाथि हुने बलात्कारलगायतका जघन्य अपराध नियन्त्रणका सम्बन्धमा पनि सरकारलाई आवश्यक सुझाव दिनेगरी सम्मेलनमा छलफल हुने एनटियुसीका महासचिव योगेन्द्रकुमार कुँवरले जानकारी दिनु भयो ।
काठमाडौंको प्रज्ञाभवनमा हुने दुई दिने सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नु हुनेछ । सम्मेलनले एनटियूसीको सातौं राष्ट्रिय महाधिवेशनको मिति पनि तय गर्ने जानकारी गराइएको छ । ।







