काठमाडौं,२७,जेठ ।
प्रतिनिधि सभा सदस्य डा. सुर्य प्रसाद पाठकले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा संसदमा जानकारी दिन आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा समय माग गरि बोल्दै सांसद पाठकले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा सत्तारुढ गठबन्धनका नेताले नै आशंका गरिरहेको उल्लेख गर्दै सो भ्रमणको सम्बन्धमा संसदमा जानकारी दिन आग्रह गर्नुभएको हो । उहाँले नेपाललाई सैन्य गठबन्धनमा प्रवेश गराइने हो कि भन्ने आशंकाहरु उब्जिएको बताउनुभयो । उहाँले राष्ट्रिय स्वाधिनता र नेपालको सार्वभौमसत्तासँग जोडिएको विषय भएकाले प्रधानमन्त्रीले संसदबाट आम जनतालाई जवाफ दिनुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘खासगरीकन उहाँको आशंका के थियो भने नेपालका प्रधानसेनापति अमेरिकाको भ्रमणमा जाँदै हुनुहुन्छ । रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री अमेरिकाको भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँको आशंका अनुसार त्यो अमेरिकाको भ्रमणमा स्टेच पार्टनरशिप प्रोग्राम अन्र्तगत नेपाल समावेश हुने पो हो कि, त्यसमा समावेश भो भने उहाँको भनाई अनुसार नेपाल सैन्य गठबन्धनमा प्रवेश गर्नेछ । नेपाल सैन्य गठबन्धनमा प्रवेश गर्ने भनेको पश्चिमा सेनाहरु नेपालमा उपस्थित हुनु हो । पश्चिमा सेनाहरु नेपालमा उपस्थित हुनु भनेको भविष्यमा नेपाल कतै दोस्रो युक्रेन त हुने होइन भन्ने प्रकारका गम्भिर आशंकाहरु उहाँले व्यक्त गर्नुभएको छ । सत्तारुढ गठबन्धनको प्रमुख घटकको प्रमुख नेताले यस्तो आशंका व्यक्त गरिसकेपछाडी भित्रभित्रै गम्भिर प्रकृतिका षड्यन्त्र त भएका छैनन् भनेर हामी असाध्यै चिन्तित छौँ । मलाई लाग्छ देश पनि चिन्तामा छ । यस्तो अवस्थामा यो गम्भिर विषय हो । राष्ट्रिय स्वाधिनतासँग जोडिएको विषय हो । नेपालको सार्वभौमसत्तासँग जोडिएको विषय हो । यस्तो महत्वपूर्ण विषयमा प्रधानमन्त्री स्वयम् उपस्थित भएर रोष्टमबाट संसदलाई, आम जनतलाई जानकारी गराउनुपर्छ । विषयवस्तु खास के हो ? यो म जोडदार माग गर्दछु ।’
प्रतिनिधि सभा सदस्य गिरिराजमणि पोखरेलले महोत्तरी र सर्लाही जिल्लामा मिटरव्याजीहरुले स्थानीयलाई ठगि गरिरहेको उल्लेख गर्दै मिटरव्याजीहरुलाई कारबाहीको माग गर्नुभयो । उहाँले यो वर्ष सरकारले अपराधको सूचीमा मिटरब्याजीलाई पनि सामेल गरेको उल्लेख गर्दै यसको लागि कानून, प्रहरी, प्रशासन र अदालत सबै तयार भइनसकेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले मिटरब्याजी विरुद्धको आन्दोलनलाई राष्ट्रिय विषय बनाउने सर्लाहीका डाचाराज वाग्लेको प्रतिगमन विरोधी आन्दोलनको क्रममा रहस्यमय मृत्यु भएको र सरकारले राम्रोसँग अनुसन्धान नगरेको भन्दै उच्चस्तरिय अनुसन्धान गर्न माग गर्नुभयो ।प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडाले मोरङ जिल्लाको रतुवामाई नगरपालिका वडा नं. ९ मा अवस्थित जनता माध्यामिक विद्यालयका प्रध्यानाध्यापक ईश्वर खनालललाई सोही वडाका नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष इन्द्रबहादुर लिम्बुले निर्ममतापूर्वक कुटपिट गरेको भन्दै दोषीउपर कारबाहीको माग गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य खेमप्रसाद लोहनीले धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५ ढुंग्रे भञ्ज्याङको नेत्रबहादुर खाँणको घरमाथि पहिरो आएर घर पुरिएको भन्दै उद्धार गरी खाँणको ज्यान बचाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सोही गाउँपालिकाको वडा नं. ६ मा पनि वर्षाका कारण स्थानीय घरमै थुनिनुपरेकाले उनीहरुलाई पनि उद्धार गर्न अनुरोध गर्नुभयो ।प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले स्थानीय तह निर्वाचनका लागि गाउँ गएको बेलामा आफुमाथि गठबन्धन दलका कार्यकर्ताहरुले आक्रमण प्रयास गरेको भन्दै दोषी उपर कारबाहीको माग गर्नुभयो । उहाँले २७ वर्ष अघिदेखि आफ्नो परिवारमाथि हिंसा भइरहेको बताउनुभयो ।उहाँले आफुसहित आफ्नो वृद्ध आमालाई समेत दुव्र्यवहार भएको उल्लेख गर्दै न्याय दिन सरकारसँग माग गर्नुभयो ।







