जेठ २५ ,काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगनकुमार थापाले काठमाडौंलाई फोहोरमुक्त बनाउने अभियानमा विशेष पहलकदमी लिईदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नु भएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै महामन्त्री थापाले सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मात्रै यहाँको फोहोरको व्यवस्थापन गर्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक स्रोत, साधनको व्यवस्था गर्न, आवश्यक कानुनी प्रबन्ध मिलाउने काममा विशेष पहल गरिदिन प्रधानमन्त्री देउवासँग आग्रह गर्नु भएको हो । उहाँले सो अभियानमा साथ दिन काठमाडौं महानगरपालिकाका सबै वडाका जनप्रतिनिधिहरु र महानगरबासीसँग पनि अपिल गर्नु भयो । महानगरबासीले कुहिने र नकुँहिने फोहोर छुट्टाछुट्टै रुपमा राखि दिन र त्यहाँका जनप्रतिनिधिहरुले त्यसका लागि आवश्यक सूचना पु¥याउन सकेमात्रै काठमाडौंलाई फोहोरमुक्त बनाउने अभियान सफल हुने महामन्त्री थापाको भनाई थियो । उहाँले भन्नु भयो, ‘काठमाडौंको फोहोर व्यवस्थापनको सन्दर्भमा सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाको काममा मद्धत गर्नु हामी सबैको कर्तव्य हो । तर कतिपय कुरा दुईटा निकायले मात्रै चाहेर गर्न सकिने अवस्था छैन । कति स्रोत साधनको कुरा गर्न, कानुन, नियमको गाँठो फुकाउन सम्मानीय प्रधानमन्त्रीज्यूले नै पहलकदमी लिनुपर्नेछ । यसका लागि म सम्माननीय प्रधानमन्त्रीजीलाई विशेष पहलकदमी लिन आग्रह गर्न चाहन्छु । सरकारले आफ्नो कर्तव्य पूरा गरेसँगसँगै हामी नगरबासीले पनि केही कामहरु गर्नुपर्नेछ । यसका लागि श्रावण १ गतेबाट स्रोत मा नै कँहिने र नकुँहिने अनिवार्य रुपमा छुट्टयाउनका निम्ति काठमाडौं महानगरपालिकाले जुन अपिल गरेको छ । काठमाडौं महानगरबासी भएको नाताले र यस क्षेत्रको एउटा सांसद भएको नाताले काठमाडौं महानगरपालिकाको यो फोहोरमुक्त काठमाडौं बनाउने अभियानमा सम्पूर्ण महानगरबासीलाई साथ दिनका लागि हार्दिक अनुरोध गर्दछु । र यो कार्यक्रमलाई सफल बनाउनका निम्ति काठमाडौं महानगरपालिकासँग जोडिएका अन्य नगरहरुले पनि काम गर्नु पर्नेछ । र, सम्पूर्ण वडाहरुले यो बीचमा धेरै तयारीहरु गर्नुपर्नेछ । संघ, संस्थाहरुलाई परिचालन गर्नुपर्नेछ । घरघरमा खवर पु¥याउनुपर्नेछ । केही पूर्वाधारहरु बनाउनु पर्नेछ । यो काममा सम्पूर्ण वडा तहका जनप्रतिनिधिहरुलाई पनि सँगसँगै काम गर्ने कुराका लागि पनि म हार्दिक अपिल गर्न चाहन्छु ।’
त्यसैगरी सांसद उमाशंकर अरगरियाले किसानलाई तत्काल आवश्यक मलको व्यवस्था गर्न सरकारसँग माग गर्नु भयो । उहाँले भन्नु भयो, ‘कृषि प्रधान देश नेपालमा मलखाद समेत सरकारले उपलब्ध गराउन सकेको छैन । यस वर्ष पनि सरकारले मलखाद उपलब्ध गराउन सकेको छैन । त्यसैले सभामुख महोदयमार्फत सरकारसँग पर्याप्त रुपमा किसानलाई मलखाद पु¥याउन जोडदार माग गर्दछु ।’
नागरिकता नपाएर जागिरबाट समेत बञ्चित भएका तराई, मधेशका नागरिकलाई तत्काल नागरिकताको व्यवस्था गर्न सरकारलाई सांसद अमनलाल मोदीले ध्यानाकर्षण गराउनु भयो । उहाँले त्यसका लागि संसदमा तत्काल नागरिकता सम्बन्धि विधेयक ल्याएर त्यसलाई पारित गराउने काममा ढिलाई नगर्न पनि सरकारलाई दवाव दिनु भयो । सांसद मोदीले बर्दियामा सुरक्षाकर्मीको गोलीबाट हत्या भएकी नविना चौंधरीको घटनाको छानवीनका लागि एउटै छुट्टै स्वतन्त्र न्यायिक आयोग गठन गर्न पनि सरकारसँग माग गर्नु भयो । उहाँले भन्नु भयो, ‘तराई मधेशमा नागरिकता नपाएर भयावह स्थिति भईरहेको छ । बालबच्चाहरुले नागरिकता नपाएकै कारण जागिर खान पाईरहेका छैनन् । त्यसकारण यो कुरामा सरकारको तुरुन्त ध्यान जाओस् र नागरिक विधेयक चाँही तुरुन्त ल्याओस भन्ने एउटा कुरा राख्न चाहन्छु । दोस्रो, बर्दियाको मधुवन नगरपालिकामा १८ वर्षीया नविना चौंधरीको राज्यपक्षद्धारा प्रहरी प्रशासनद्धारा गोली हानिएको छ । त्यसको चाँही छानवीन त गर्छु भन्या छ तर त्यति छानवीनले हुँदैन । त्यसका लागि सत्यतथ्य पत्ता लगाउन एउटा समिति बनाउनु प¥यो भन्ने राख्न चाहन्छु । र थारुहरु जहिले पनि अन्यायमा परेको छ ।’
सांसद मोदीले थारु समुदायमाथि सरकार आफैंले अन्याय गर्नेगरेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।
अर्की सांसद अमृता थापाले देशभर विद्यालय तहको पाठ्यपुस्तक अभाव भएको भन्दै तत्काल त्यसको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले ईटहरीकी १५ वर्षीया बालिका अस्मिता चौंधरीको अवस्था अज्ञात रहेको उल्लेख गर्दै खोजी कार्यमा तत्काल ध्यान दिन पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले भन्नु भयो, ‘देशका बालिका र किशोरीले बाँच्न पाउने वातावरण बन्नुप¥यो, सरकार । यही बैशाख ३० गते स्थानीय निर्वाचन मतदानको दिन पास बाहेक गाडी पाउने नसक्ने अवस्थामा इटहरी १६ उवधि टोलकी १५ वर्षीया बालिका अस्मिता चौंधरीलाई विराटनगर १३ का १३ वर्षीय दिनेशकुमार मण्डलले धामीले अक्षता फुकाउने नाममा लगेको र आजसम्म अज्ञात रहेको अवस्थामा अनपेक्षित घटना भएको आशंका भएकाले इटहरीमा प्रहरीलाई खोजतलासका लागि उजुरी दिँदा आलटाल गरेको अवस्था छ । त्यसको यथार्थ जानकारी चाहियो । शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु । देशभर पाठ्यपुस्तकको अभाव भएको कुरामा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद थापाले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने काममा आलटाल नगर्न पनि सरकारसँग आग्रह गर्नु भयो ।







