काठमाडौं, जेठ २० गते । साउदी अरव सरकारले निर्धारण गरे अनुसारनै हज यात्रा गर्नका लागि शुल्क निर्धारण गरिएको नेपाल हज समितिले बताएको छ ।
नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले साउँदी अरव सरकारले निर्धारण गरे अनुसारनै मक्कामा हज यात्राका लागि शुल्क निर्धारण गरिएको प्रष्ट्याउनु भएको हो । उहाँले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउँदी अरव सरकारको निर्णय अनुसारनै यस वर्षको हज यात्राका लागि शुल्क वृद्धि भएको पनि स्पष्ट पार्नु भयो । शुल्क वृद्धि गरेर समितिका पदाधिकारीहरुले अनियमितता गरेको चर्चा भईरहेका बेला अध्यक्ष मियाँले यस्तो जवाफ दिनु भएको हो । उहाँले साउदी अरव सरकारले नै वृद्धि गरेर शुल्क निर्धारण गरेको र सोही अनुसार अघि बढदा हजयात्राका लागि शुल्क वृद्धि हुन पुगेको उल्लेख गर्नु भयो । अध्यक्ष मियाँले यस वर्षको हजयात्रीहरुलाई आगामी असार १५ गते भित्र मक्का पु¥याई सक्ने गरी आवश्यक तयारी भईरहेको पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘नेपाल हज समितिले तोकेको शुल्क रकमका सन्दर्भमा नेपाल हज समितिका अध्यक्ष तथा समितिका अन्य पदाधिकारीहरुलाई लक्षित गरी साउदी अरवमा हुने खाना र घरभाडा शिर्षकमा व्यापक अनियमितता गरिएको भनि गरिएको दुस्प्रचारप्रति नेपाल हज समितिको गम्भिर ध्यानाकर्षण भएको छ । गत हज वर्ष २०१९ मा हज यात्राका लागि कूल २, २९, ७३१ रुपैयाँ शुल्क एकीन भई हज यात्रा गरिएकोमा यस वर्ष ४, ६३, ३९३ रुपैयाँ शुल्क रकम एकीन भएको सन्दर्भमा विगतभन्दा यस वर्ष शुल्क रकम वृद्धि भएको यथार्थ नै हो । शुल्क रकम वृद्धि हुनुको मुख्यकारण साउदी अरव सरकारले निर्धारण गरेको शुल्क रकममा आएको बृद्धि नै हो ।’समितिले छनौट भएका हजयात्रीहरुलाई तोकिएको शुल्क यही जेष्ठ २३ गते भित्र जम्मा गरि सक्न पनि सचेत गराएको छ । समितिका अध्यक्ष मियाँले त्यसका लागि जेष्ठ १६ गतेको गोरखापत्र दैनिकमा सार्वजनिक सूचना जारी गरिएको पनि बताउनु भयो ।

सरकारले विगत वर्षहरुमा झैं यस वर्ष पनि हजयात्राका लागि ४, ६३, ३९३ रुपैयाँ शुल्क रकम तोकेको छ । आर्थिक अवस्था कमजोर भएका इस्लाम धर्मावलम्वीहरुले हजयात्रा गर्न कठिनाई हुने भएकाले ५० प्रतिशत अनुदान उपलब्ध गराउन पनि पहल भईरहेको समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here