जेठ १७ ,काठमाडौँ नेपाल नागरिक उड्डयन प्राधिकरणले अबदेखि विमानस्थलबाट मौसमसम्बन्धी अनुमति लिएर मात्रै उडान गर्नसक्ने निर्णय गरेको छ । जेठ १५ गते पोखराबाट जोमसोम उडान गरेको तारा एयरको विमान दुर्घटना भएसँगै विमानले यस्तो निर्णय गरेको हो । यसअघि मौसमसम्बन्धी विमानस्थलबाट लिनुपर्ने कानूनी बाध्यता थिएन । नेपाल नागरिक उड्डयन नियमावली २०५८ को परिच्छेद १० मा यो अधिकार प्रमुख चालकलाई हुने प्रावधान थियो । तर अब भने चालकमाथिको अधिकार विमानस्थल प्रमुख र त्यहाँका टावरहरुलाई दिने निर्णय भएको प्राधिकरणमा प्रवक्ता चन्द्रलाल कर्णले बताउनु भयो । उहाँले भीएफआर उडानको सन्दर्भमा यसअघि प्रस्थान विमानस्थल र गन्तव्य विमानस्थलहरुको मौसमको आधारमा उडानको अनुमति दिने गरिएको भएपनि अब प्रस्थान र गन्तव्यसम्मको एयररुटको मौसम सफा भएमा मात्र उडान भर्न सकिने व्यवस्था गरिएको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले आइकीओको डकुमेण्ट र नेपालबाट प्रतिवादित कानूनहरुले भीएफआर फ्लाइट क्लाउडमा पस्नुहुँदैन भनेको तर पछिल्ला केही घटनाहरुलाई नियाल्दा विमानहरु क्लाउडमा बादलभित्र पसेको पाएकाले भीएफआर जहाजहरु बादलभित्र नपसुन् भन्ने हेतुले यो अधिकार विमानस्थललाई दिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो भन्दाअघिसम्म कुनैपनि दृष्टिगत तरिका (आँखाले हेरेर) ले चलाउने भीएफआर फ्लाइटहरुको सन्दर्भमा प्रस्थान विमानस्थल र गन्तव्यका विमानस्थलहरुको मौसमको आधारमा उडानको अनुमति दिइन्थ्यो भने अब यसमा थप इनरुटमा भएको, दुईवटा एयरपोर्टको बीचमा इनरुटमा भएको मौसमको अनुमान गरेर जुन क्लाउडहरु, मौसमहरु हुन्छन्, हावा चलेको, अर्थात् मौसमका विचार गरेर सम्बन्धित विमानस्थलहरु गन्तव्यमा जान दिने÷नदिने भनेर अधिकार विमानस्थललाई दिइएको छ । नेपाल नागरिक उड्डयन नियमावली २०५८ को परिच्छेद १० मा पहिले यो अधिकार प्रमुख चालकलाई हुन्थ्यो भने अब त्यो चालकमाथिको अधिकार विमानस्थल प्रमुख र त्यहाँका टावरहरुलाई यो अधिकार दिइएको छ । इनरुट वेदरलाई पनि एसेसमेण्ट गरेर अनुकुल छ भने मात्रै अनुमति दिने, प्रतिकुल भए उडान अनुमति नदिने निर्णय भएको छ । आइकीओको डकुमेण्ट र नेपालबाट प्रतिवादित कानूनहरुले यो भीएफआर फ्लाइट क्लाउडमा पस्नुहुँदैन । तर पछिल्लो केही घटनाहरुलार्य विचार गर्दा वायुयानहरु क्लाउडमा बादलभित्र पसेको हामीले पाएका छौँ । कतै न कतै कानूनको उल्लंघन भएको देखियो । भीएफआर जहाजहरु बादलभित्र नपसुन् भनेर यो अधिकार अब विमानस्थललाई दिएको छ । हामी मौसमसम्बन्धी दुई किसिमबाट निर्णय गर्छौं । एउटा कन्ट्रोल टावरमा भएका एयर ट्राफिक कन्ट्रोलरहरुले एसेसमेण्ट गर्दछ । नेपालका थुप्रै विमानस्थलहरुमा जल तथा मौसम विज्ञान विभागका युनिटहरु कार्यरत छन् ।’ प्रवक्ता कर्णले नेपालका थुप्रै विमानस्थलहरुमा जल तथा मौसम विज्ञान विभागका युनिटहरु कार्यरत रहेको र उनीहरुकै सुझावका आधारमा उडान भर्ने गरेको पनि स्पष्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here