काठमाडौं, जेठ १७ ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रमा भएका समस्या निराकरण गर्ने किसिमको बजेट आएको बताउनुभएको छ । आइतवार अर्थमन्त्री जनार्दन शर्माले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन भएको विषयमा चर्चा गर्दै अध्यक्ष श्रेष्ठले बजेट घटेर आएपनि खेलाडीको हक हितका लागि बजेट आएको बताउनु भएको हो । आगामी आर्थिक वर्षको खेल क्षेत्रको बजेट चालु आर्थिक वर्षको भन्दा २८ करोडले कमी हो । खेलकुद क्षेत्रका समस्याहरुलाई निराकरण गरेर खेलक्षेत्रबाट राष्ट्रको गौरव बढाउने, खेलाडीहरुको भविष्य सुनिश्चित गर्ने र खेल क्षेत्रलाई बिस्तार गर्ने बजेट सकारात्मक भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।उहाँले भन्नुभयो, ‘खेलकुद क्षेत्रका समस्याहरुलाई निराकरण गरेर खेलक्षेत्रबाट राष्ट्रको गौरव बढाउने , खेलाडीहरुको भविष्य सुनिश्चित गर्ने र खेल क्षेत्रलाई बिस्तार गर्ने बजेट आएको छ, त्यो राम्रो हो । प्राथमिक दिँदै विनियोजन गरेको रकम घटेको छ । तर सकारकारको तरिकाबाट विश्लेशण भएको त्यो राम्रो छ । अलिबढी क्रिकेटमा प्राथमिकता भए पनि त्यो राम्रो हो ।’
अध्यक्ष श्रेष्ठले बढी मात्रामा क्रिकेटलाई प्राथमिकता दिएको, अन्य सम्भावना भएका खेलको विषयमा भने बजेटलाई प्राथमिकता नदिएको टिप्पणी गर्नुभयो । खेलकुदमा खेलाडीलाई टिकाउन लागि उपलब्ध गराउनुपर्ने सेवा सुविधामा कमजोरी भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।उहाँले भन्नुभयो, ‘क्रिकेटलाई बजेटले अलि बढी प्राथमिकता दिएको छ । पछिल्लो समय क्रिकेटमा देखिएको सम्भावना राम्रो छ । क्रिकेटसँग सँगै अन्य खेल पनि उत्तिकै सम्भावना छ । जहाँ राम्रा खेलाडी पनि देखा परिरहेका छन् । उनीहरुले पनि राम्रो परिणाम दिन सक्छन् । तर ती खेलका खेलाडीका लागि प्राथमिकता औंल्याउने विषयमा कमजोरी भएको छ । खेलकुदमा खेलाडीलाई टिकाउन लागि उपलब्ध गराउनुपर्ने सेवा सुविधामा कमजोरी भएका छन्, यसमा सम्बोधन गर्नुपर्ने थियो ।’चालु आर्थिक वर्षमा सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । विविध कारणले चालु आर्थिक बर्षमा छुट्टयाइएको बजेट सदुपयोग हुन नसक्दा सरकारले नयाँ आर्थिक वर्षमा खेलकुदको बजेट घटाएको कतिपयले विश्लेशण गरेका छन् । सरकारले खेलकुद पर्यटनको प्रवद्र्धनका लागि सार्वजनीक निजी साझेदारीमा शाहसीक तथा पर्वतीय खेलकुदका पूर्वाधार निर्माण तथा सञ्चालन गर्न प्रोत्साहन गरिने व्यवस्था बजेटमा गरेको छ । जुम्लाको कोप्लापाटन लगायतका स्थानमा हाइअल्टिच्युड एण्ड स्पोर्टस सेन्टर स्थापना गर्न बजेट विनियोजन गरेको बजेटमा उल्लेख गरेको छ भने निर्माणाधिन केही पूर्वाधारलाई पूरा गर्ने पनि जनाएको छ । यस्तै सरकारले अन्तराष्ट्रिय तथा राष्ट्रिय खेलकुदमा प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीको बीमाको प्रवन्ध गर्ने जनाएको छ भने एशियाली र ओलम्पिक खेलमा पदक विजेता खेलाडीलाई आजीवन भत्ताको व्यवस्था बजेटमा गरिएको छ ।








