काठमाडौं, जेठ १७ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको छ ।

सोमबार संसद भवन नयाँ बानेश्वारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले बजेट अनुचित, विना सिद्धान्त र प्राथमिकताको आधारमा आएको भन्दै त्यसको झण्डाफोर हुने गरी जनताको बीचमा लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको हो । बजेट अनुचित ढंगले, विनासिद्धान्त र प्राथमिकताका आधारमा आएकाले त्यसको भण्डाफोर गरेर अघि बढन पार्टीका अध्यक्ष ओलीले निर्देशन दिनु भएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘अध्यक्षले बजेट अनुचित ढंगले आएको, सिद्धान्तहिन र प्राथमिकताविहीन ढंगले आएकाले त्यसलाई भण्डाफोर गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको छ ।’

बैठकले सरकारले ल्याएको बजेट विशुद्ध चुनावमा भोट माग्ने किसिमले आएको, मुलुकको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नचाहेको हावादारी रहेको निष्कर्ष समेत निकालेको छ । बैठकमा अध्यक्ष ओली, पूर्व अर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाँण्डे, डा. युवराज खतिवडाले बजेटबारे सांसदहरुलाई प्रशिक्षण दिनु भएको थियो । त्यसैगरी पार्टी निकट बौद्धिक व्यक्तित्वहरु राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पुष्पराज कँडेल, योजना आयोगकै पूर्व सदस्य डा. दिनेशचन्द्र देवकोटाले पनि बजेटबारे आफ्नो धारणा राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here