काठमाडौं,९,वैशाख ।

अघिल्लो स्थानीय तहमा निर्वाचित भएका निर्माण व्यवसायीहरू अन्य क्षेत्रबाट आएका जनप्रतिनिधिहरू भन्दा धेरै राम्रो काम गर्न सफल भएका छन् । निर्माण व्यवसायीहरूले जितेका स्थानीय तहहरूमा अन्य पालिकाको तुलना गर्दा धेरै राम्रो भएको थाहा हुन्छ ।हामीलाई सधैं काम नगर्ने पात्रका रूपमा चित्रित गरिन्थ्यो, तर २०७४ सालको चुनावमा जितेका साथीहरूलाई हेरौं, अधिकांशले राम्रो काम गरेर जनताको मन जितेका छन् । एकदम थोरै मात्रै अनियमितता र विवादमा परेका छन् । अघिल्लो स्थानीय तहमा निर्माण व्यवसायीहरूले गरेको कामको आधारमा हेर्ने हो भने यो निर्वाचनमा दोब्बर ठाउँमा निर्माण व्यवसायीहरू आउनुपर्ने हो ।

जति पनि सञ्चारमाध्यम र अन्य व्यक्तिहरूले ‘ठेकेदार’ भन्दै नकारात्मक कुरा छरेका थिए, विस्तारै राम्रा काम गरेर निर्माण व्यवसायीबाट जनप्रतिनिधि भएकाहरूले त्यो भ्रम चिरिरहेका छन् । हामीलाई बाटो नबनाउने, पुल नबनाउने भन्दै सधैं आरोप लाग्ने गरेको छ, तर हाम्रो कारणले मात्रै त्यो अवस्था आएको थिएन । सरकार र स्थानीय विवादको कारणले अलपत्र ठेक्काको समेत गाली हामीले लिनुपरेको कारणले हामी बदनाम हुँदै आएका थियौं ।अहिले निर्माण व्यवसायबाट जनप्रतिनिधि भएकाहरूले सरकारले कसरी विकासको कामहरू गर्नुपर्छ र रोकिएमा कसरी अघि बढाउनुपर्छ भनेर सन्देश दिइरहनुभएको छ । अहिले जनता र संघीय सरकार दुवैलाई विकासमा के कुरा बाधक रहेछ भनेर बुझाउन हाम्रा जनप्रतिनिधि साथीहरू सक्षम भएका छन् ।जस्तो कि टेण्डर खोल्नु अघि सबै तयारी पूरा गर्नुपर्ने, पर्याप्त बजेट व्यवस्था गर्नुपर्ने, स्थानीय विवाद समाधान गर्नुपर्ने, जग्गा प्राप्ति र मुआब्जा समस्या समाधान गर्नुपर्ने कुरा हाम्रा साथीहरू कामबाटै बुझाउन सफल हुनुभएको छ । सबै तयारी सकेर दिने हो भने निर्माण व्यवसायीले पाएको ठेक्का समयमा नै पूरा गर्न सक्छन्, नकारात्मक धारणा परिवर्तन हुँदै जान्छन् भन्ने यस अवधिमा भएका कामले देखाएका छन् ।

स्थानीय तह भनेको विकास निर्माण गर्ने महत्वपूर्ण सरकार हो । हामी यही विषयमा जानकारी र अनुभव भएका मान्छेहरू त्यहाँ जाँदा विकास निर्माणमा टेवा त पुग्ने नै भयो । फेरि हामीलाई सरकारले खोल्ने ठेक्का, लागत अनुमान, समयावधिको विषयमा पनि जानकारी हुन्छ, हामी त विकास क्षेत्रको विज्ञ पनि हौं । त्यसकारण पनि निर्माण व्यवसायीले जिम्मेवारी पाए उचित ढंगले निर्वाह गर्छन् भन्ने कुरा पुष्टि भइसक्यो ।स्थानीय तहमा उम्मेदवारका मापदण्डको बारेमा निर्माण व्यवसायीलाई हेर्ने निर्वाचन आयोगको दृष्टिकोण गलत देखियो । हामी व्यवसाय गर्दा नाफा कमाउने उद्देश्य नै राखेर गर्छौं, तर जनप्रतिनिधिको रूपमा काम गर्दा समाजसेवाको हिसाबले गर्छौं ।हामी पैसा कमाउने उद्देश्यले कहिल्यै पनि यो व्यवसायबाट जनप्रतिनिधि हुन जाने होइन । हामी राजनीतिमा जानेवित्तिकै सबै सिध्याउने भो भने जसरी हेरिन्छ, त्यो गलत छ ।

आयोगले जारी गरेको मापदण्डले हाम्रा धेरै व्यवसायीहरूलाई हतोत्साहित बनायो । बरु के चाहिं हो भने उम्मेदवार हुँदा सम्बन्धित पालिकाबाट व्यवसायीले लिनुपर्ने बक्यौता रकम छ भने त्यो दिइनुपर्छ । केही ठेक्काका विवाद छन् भने समाधान गरिनुपर्छ । तर, हामीकहाँ निर्माण व्यवसायी भएकै आधारमा नाक खुम्च्याउने प्रवृत्ति छ, त्यो चाहिं गलत हो ।हामी निर्माण व्यवसायीहरू स्थानीय तहको निर्वाचनमा जुनसुकै पार्टीबाट उम्मेदवार भए पनि सशक्त र सक्षम उम्मेदवार हौं । हामी अन्य पेशा–व्यवसाय र राजनीति मात्रै गरेर आउनेहरू भन्दा धेरै काम गर्न सक्छौं । समन्वय गर्ने र सक्रिय हुने मामिलामा हामी तुलनात्मक रूपमा अन्य उम्मेदवारहरू भन्दा बढी सक्षम छौं ।

तर, हामीमा समस्या नै नभएको भने होइन । केही ठाउँमा विविध कारणले समस्या छन् । ती समस्या निर्माण व्यवसायी मात्रै नभई कुन पार्टीबाट चुनाव जितेको, वरिपरि कस्ता मान्छे छन् भन्ने कुराले निम्त्याएको हो भने केही साथीको नियतको कारणले पनि समस्या आएको हो ।यो पटकको निर्वाचनमा राजनीतिक दलहरूले निर्माण व्यवसायीलाई हेर्ने नजर बदल्नुपर्छ । अघिल्लो पटक भन्दा आगामी निर्वाचनबाट धेरै निर्माण व्यवसायी साथीहरू चुनिएर आउने अपेक्षा हाम्रो छ । ठूला राजनीतिक दलहरूले टिकट दिए स्थानीय तह कस्तो बनाउने र विकास निर्माणको काम कसरी हुन्छ जनतालाई हामी गरेर देखाउने थियौं ।जनताको विश्वास जित्ने जोसुकै जनताको प्रतिनिधि बन्न सक्छ । निर्माण व्यवसायी पनि चुनाव नै लडेर आउने, कुनै छलछाम गरेर वा कसैले दया गरेर पदमा राखिदिने हैन । निर्माण व्यवसायी भएका कारण हामीलाई फरक आँखाले हेर्नेहरूको चश्मा नै दोषी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here